इटहरी। मोरङ प्रहरीले विराटनगरबाट ३९८ किलो लागुऔषध गाँजासहित एक स्कार्पियो नियन्त्रणमा लिएको छ ।विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा शनिबार राति प्रहरीले आकस्मिक चेकजाँच गर्ने क्रममा गाँजासहितको स्कार्पियो नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियोले प्रहरीको चेकिङ टोली देखेपछि युटर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि प्रहरीले स्कार्पियो जाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १३ पोकामा ३९८ किलो गाँजा बरामद गरेको हो । स्कार्पियो चालक भने फरार रहेको मिश्रले जानकारी दिनुभयो ।दुर्घटनामा कार चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।फरार चालकको खोजी तथा पहिचानको कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङकाले जानकारी दिएको छ ।