इटहरी। तेह्रथुमको लालीगुराँस नगरपालिका–७ की पुष्पाञ्जली केप्छाकी मगर बिहानको घरायसी काम सकेर तानमा बस्नुहुन्छ । केही समयअघिसम्म घरायसी काममै बित्ने गरेको उहाँको दैनिकी अहिले तानसँगै फेरिएको छ । ढाका बुन्ने सिप सिकेपछि उहाँले घरमै बसेर आम्दानीसमेत गर्न थाल्नुभएको हो । आफ्नो आम्दानीको मात्रा बचतसमेत गर्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “बेरोजगार बसेर अरूको भर पर्नुभन्दा आफ्नै सिपले केही कमाउन पाउँदा आत्मविश्वास बढेको छ । अहिले परिवारको खर्चमा पनि सहयोग गर्न सिकेकी छु । घरमै बसेर व्यवसाय गर्न पाइने भएकाले यो काम महिलाका लागि निकै उपयुक्त छ । मगर जस्तै लालीगुराँस नगरपालिकाका धेरै महिला अहिले घरमै तान राखेर ढाका बुन्न थालेका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यव्रmम ९मेड्पा० अन्तर्गत सञ्चालन भएका सिपमूलक तालिमले उनीहरूलाई घरधन्दाबाट उद्यमतर्फ जोड्न थालेको हो । मेड्पा कार्यव्रmम संयोजक छत्र श्रेष्ठका अनुसार महिलालाई आफ्नै गाउँमा बसेर आयआर्जन गर्न सक्ने बनाउनु कार्यव्रmमको मुख्य उद्देश्य हो । सिपसँगै उद्यम व्यवस्थापन र बजारीकरणमा समेत सहयोग गरिँदै आएको श्रेष्ठ बताउनुहुन्छ । लालीगुराँस नगरपालिकाले पनि ढाका व्यवसायलाई थप व्यावसायिक बनाउँदै महिलाको आर्थिक अवस्था सुधार गर्ने प्रयास गरिरहेको जनाएको छ ।
तेह्रथुमे ढाका अहिले परम्परागत पोसाकमा मात्र सीमित छैन । समयसँगै यसको प्रयोग र उत्पादनको दायरा निकै फराकिलो बनेको छ । साडी, चौबन्दी चोली, मेख्ली, पछ्यौरा, सल, कुर्ता–सुरुवाल, दौरा–सुरुवाल, ढाका टोपी, बास्कोट, कोट, ज्याकेट, सर्ट, टाई, मफलर, रुमाललगायतका पोसाक उत्पादन गर्दै आएका छन् । आधुनिक बजारको मागसँगै ह्यान्डब्याग, लेडिज पर्स, वालेट, ल्यापटप ब्याग, स्कुल ब्याग, मोबाइल कभर, फाइल कभर, कुसन कभर, टेबल रनर, सजावटी सामग्री, उपहारका सामग्री तथा विभिन्न फेसन सामग्रीसमेत ढाकाबाट उत्पादन हुने गरेको छ । लालीगुराँस नगरपालिकाकी उपप्रमुख जमुना मगर कार्कीका अनुसार ढाका व्यवसायलाई थप व्यावसायिक बनाउँदै महिलाको आर्थिक अवस्था सुदृढ बनाउने लक्ष्यका साथ स्थानीय सरकारले निरन्तर सहयोग गरिरहेको छ । परम्परागत सिपलाई आधुनिक डिजाइनसँग जोडेपछि ढाकाको व्यापार झनै विस्तार हुँदै गएको छ । तेह्रथुम आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ढाका सबैभन्दा लोकप्रिय कोसेली बनेको छ । जिल्लाबाट उत्पादन भएका ढाकाका सामग्री काठमाडौँ, पोखरा, विराटनगर, धरान, इटहरीलगायत देशका प्रमुख बजारमा मात्र नभई विदेशसम्म पुग्ने गरेको स्थानीय बताउँछन् ।


