इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनकुटामा क्षेत्रीय तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु भएको छ ।
धनकुटा सदरमुकामस्थित सामुदायिक हलमा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ को क्षेत्रीय अधिवेशन सञ्चालन भइरहेको छ । आजको अधिवेशनबाट धनकुटाका दुई प्रदेशसभा निर्वाचन क्षेत्रबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट १८ सदस्यीय क्षेत्रीय कार्यसमिति र विभिन्न क्लस्टरबाट २४ जना प्रदेश प्रतिनिधि चयन हुनेछन् ।
क्षेत्र ‘ख’ बाट पनि १८ सदस्यीय क्षेत्रीय कार्यसमिति र विभिन्न क्लस्टरबाट २४ जना प्रदेश प्रतिनिधि चयन हुनेछन् । क्षेत्रीय अधिवेशनबाट नेतृत्व तथा प्रतिनिधि छनोटमा सहमति कायम गर्ने प्रयास भइरहेको नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले बताए । उनका अनुसार सहमति हुन नसकेका पदमा भने भोलि निर्वाचनमार्फत कार्यसमिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ ।
धनकुटामा सातवटा स्थानीय तह छन् ।
सातवटै स्थानीय तहका सभापति सात जना र प्रदेशसभाका दुई जना पदेन प्रतिनिधिसहित ४२ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको कांग्रेस धनकुटाले जनाएको छ ।


