इटहरी। आगामी असोज २२ र २३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने सम्मेलन आयोजना हुने भएको छ।

कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरु गरेको छ। सम्मेलनमा प्रदेशमा देखिएका समस्या, संघीयता कार्यान्वयनका चुनौती तथा संघीयतालाई थप बलियो बनाउन अपनाउनुपर्ने उपायका विषयमा छलफल हुने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र प्रदेशहरूले अपनाएका असल अभ्यासबारे छलफल गर्दै आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्न सम्मेलन आयोजना गर्न लागिएको बताए। सम्मेलनको आवश्यक तयारी तथा समन्वयको जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीसँग समन्वय भइसकेको जानकारी दिँदै सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सरकारी अधिकारीसमेत सहभागी हुने बताए। प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार असोज २२ गते सबै मुख्यमन्त्रीको उपस्थितिमा सम्मेलन उद्घाटन हुनेछ। त्यसपछि प्रदेशहरूले गरेका असल अभ्यासका विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ। छलफलका क्रममा प्रदेशले भोग्दै आएका समस्या, स्थानीय तह र संघीय सरकारसँग गर्नुपर्ने समन्वय तथा कानुनी पक्षका विषयमा समेत अन्तरक्रिया हुने निरौलाले बताए। सम्मेलनको तालिकामा प्रदेशको पर्यटन प्रवर्द्धनका लागि मुख्यमन्त्रीहरूलाई नजिकका पर्यटकीय गन्तव्यको भ्रमण गराउने कार्यक्रमसमेत राखिएको छ।

उपाध्यक्ष निरौलाले पहिलोपटक हुन लागेको सम्मेलनलाई आगामी दिनमा नियमित बनाउँदै मुख्यमन्त्रीहरूबीच समन्वय गर्ने स्थायी फोरमका रूपमा अघि बढाउने तयारी गरिएको बताए। कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले सम्मेलनमा प्रदेश र बहुप्रदेशबीच साझेदारीका विषयमा छलफल हुने भएकाले सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। उनले प्रदेशहरूका साझा समस्या पहिचान गरी समाधानका लागि समेत सम्मेलन महत्वपूर्ण हुने बताए। प्रदेशहरूबीच सहकार्य बढ्दा विकास र समृद्धिमा ठूलो फड्को मार्न सकिने र त्यसले संघीयता कार्यान्वयन तथा सबलीकरणमा समेत सहयोग पुग्ने भट्टले बताए।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका उत्पादन अन्य प्रदेशमा लैजाने तथा अन्य प्रदेशका उत्पादन कोशीमा ल्याउने गरी व्यापार प्रवर्द्धनका लागि समझदारी गर्ने तयारी भइरहेको बताए। पर्यटन प्रवर्द्धनका सम्भावनाका विषयमा पनि प्रदेशहरूबीच साझेदारी र सहकार्य गर्ने तयारी गरिएको उनले बताए। सम्मेलनको तयारीका लागि आवश्यक समिति गठन तथा कार्यविभाजन गरेर कोशी प्रदेश योजना आयोगले काम अघि बढाइसकेको छ।