इटहरी। मोरङको बेलबारी नगरपालिका–१ नक्सलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ पानी ट्याङ्कीमा बस्ने २३ वर्षीय जके भन्ने बामदेव दर्जी र सोही स्थानका २६ वर्षीय सबिन सूर्य मगर रहेका छन् । प्रहरीका अनुसार आज बिहान करिब ५ः४० बजे दर्जीको घरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर लुकाइ छिपाइ राखेको सूचना इलाका प्रहरी कार्यालय बेलबारीमा प्राप्त भएको थियो ।

सूचनापछि प्रहरी नायब निरीक्षकको टोली खटिएर दर्जीको घरमा खानतलासी गर्दा प्लास्टिकबाहेक १ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।