इटहरी। कोशी प्रदेशका सबै जिल्लाका दुर्गम तथा दूरदराजका क्षेत्रमा उपचारका लागि ठुला अस्पतालसम्म पुग्न कठिन हुने क्यान्सरका जटिल बिरामीलाई लक्ष्य गरी घरदैलोबाट विशेषज्ञ परामर्श र ‘प्रसामक तथा हस्पिस केयर’ उपलब्ध गराउन ‘टेलिमेडिसिन’ सेवा सुरु गरिएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टु वल्र्ड क्यान्सर कोल्याबरेसन र नेपाल हस्पिस केयर सेन्टरको सहकार्यमा कोशी प्रदेशका सबै जिल्ला समेटेर ‘हब एन्ड स्पोक’ मोडेलमा यो सेवा सञ्चालनमा ल्याइएको हो । यस अन्तर्गत प्रतिष्ठानलाई मुख्य ‘हब’ र प्रदेशका १४ वटै जिल्लाका अस्पताललाई ‘स्पोक’ का रूपमा जोडिएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालसम्म आउन नसक्ने, दीर्घरोगका कारण लामो समयदेखि पीडित तथा क्यान्सरको जटिल चरणमा पुगेका बिरामीलाई स्थानीय स्वास्थ्य संस्थामार्फत विशेषज्ञ चिकित्सकसँग जोड्न यो प्रणाली ल्याइएको हो । दुर्गम क्षेत्रका बिरामीका लागि विशेषज्ञ स्वास्थ्यसेवा पहुँचको नयाँ विकल्प सिर्जना गर्ने अपेक्षा गरिएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठको भनाइ छ । परियोजनाका लागि प्रतिष्ठान, टु वल्र्ड क्यान्सर कोल्याबरेसन र नेपाल हस्पिस केयर सेन्टरबिच दुई वर्षका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृति कार्की र टु वल्र्ड क्यान्सर कोल्याबरेसनका नेपाल लिड तथा नेपाल हस्पिस केयर सेन्टरका प्रतिनिधि प्राडा विष्णुदत्त पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
नेपालमा यसप्रकारको सेवा ‘पाइलट प्रोजेक्ट’ का रूपमा पहिलो पटक सुरु गरिएको हो । परियोजना कार्यान्वयनमा ल्याउन कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले विशेष सहजीकरण गरेको छ । प्रदेश सरकारले १४ वटै जिल्लाका अस्पतालबाट कार्यक्रम सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने स्थायी चिकित्सक तथा नर्स छनोट गरी कार्यक्रममा सहभागी गराएको छ । छनोट भएका स्वास्थ्यकर्मीलाई पाँचदिने आवासीय तालिमसमेत प्रदान गरिएको छ । क्यान्सरका जटिल बिरामीको लक्षण पहिचान, दुखाइ व्यवस्थापन, औषधी प्रयोग, बिरामी तथा परिवारलाई मनोसामाजिक सहयोग, अन्तिम अवस्थाका बिरामीको हेरचाह तथा विशेषज्ञसँग ‘टेलिमेडिसिन’ मार्फत केस छलफल गर्ने विधिबारे स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको जनाइएको छ । कोशी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयले १४ वटै जिल्लामा आवश्यक ‘टेलिमेडिसिन’ संरचना स्थापना गर्न तथा कार्यक्रमलाई दीर्घकालीन र दिगो बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
परियोजना अन्तर्गत प्रत्येक बिहीबार ‘टेलिमेडिसिन’ मार्फत विशेषज्ञ चिकित्सकसँग बिरामीका केसबारे परामर्श गरिने छ । स्थानीय अस्पतालमा रहेका चिकित्सक तथा नर्सले बिरामीको अवस्था, लक्षण, परीक्षण रिपोर्ट तथा उपचारको विवरण प्रस्तुत गर्ने छन् । त्यसका आधारमा प्रतिष्ठानमा रहेका सम्बन्धित विषयका विशेषज्ञले आवश्यक उपचार, औषधी तथा लक्षण व्यवस्थापनका विषयमा सुझाव दिने छन् । सेवा सुरु गरिएको अवसरमा टु वल्र्ड क्यान्सर कोल्याबरेसनका अध्यक्ष तथा मेडिकल अन्कोलोजिस्ट डा. पुनीत बेन्स, प्राडा विष्णुदत्त पौडेल, डा. सोनिया दुलाललगायतका विशेषज्ञको सहभागिता थियो । सेवा प्रारम्भ भएसँगै तेह्रथुम र सोलुखुम्बुका तीन जना जटिल बिरामीका समस्या स्थानीय चिकित्सक तथा नर्सले विशेषज्ञसमक्ष प्रस्तुत गरेका थिए । ती बिरामीको अवस्था, देखिएका समस्या तथा उपचारका व्रmममा आइरहेका चुनौतीबारे छलफल गरी ‘टेलिमेडिसिन’ मार्फत आवश्यक चिकित्सकीय परामर्श र लक्षण व्यवस्थापनका उपाय सुझाइएको थियो । यसले सेवा केवल प्रविधि प्रदर्शनमा सीमित नभई वास्तविक बिरामीको उपचार व्यवस्थापनसँग जोडेर सुरु गरिएको देखाएको परियोजनामा संलग्न चिकित्सकले बताएका छन् ।
दुर्गमका बिरामीलाई विशेषज्ञ सेवा
क्यान्सरको उपचारमा प्रारम्भिक चरणमा रोग नियन्त्रण तथा उपचारसँगै उन्नत अवस्थामा पुगेका बिरामीको पीडा कम गर्ने र जीवनको गुणस्तर कायम राख्ने पक्ष पनि उत्तिकै महŒवपूर्ण मानिन्छ । नेपालका धेरै दुर्गम तथा ग्रामीण क्षेत्रमा भने प्रसामक तथा हस्पिस केयरसम्बन्धी विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध छैन । क्यान्सरका बिरामीलाई बारम्बार विशेषज्ञ अस्पतालमा लैजानुपर्ने बाध्यता, लामो दुरीको यात्रा, यातायात खर्च, बिरामीको शारीरिक अवस्था तथा अस्पतालमा बेड उपलब्ध नहुने समस्याले परिवारमा आर्थिक र मानसिक भार थप्ने गरेको छ ।
‘टेलिमेडिसिन’ सेवाले भने स्थानीय अस्पतालमै रहेका स्वास्थ्यकर्मीलाई विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष जोडेर त्यहीँबाट बिरामीको उपचार व्यवस्थापनमा सहयोग पु¥याउने प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले बताउनुभयो । यसबाट सामान्य अवस्थाका बिरामीलाई अनावश्यक रूपमा टाढाको अस्पताल लैजानुपर्ने अवस्था कम हुने तथा जटिल बिरामीको हेरचाहमा स्थानीय स्वास्थ्य संस्थाको क्षमता बढ्ने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ । परियोजनाका व्रmममा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष उपस्थितिबिना पनि स्थानीय स्वास्थ्यकर्मीले विशेषज्ञको सल्लाहमा बिरामीको दुखाइ, श्वासप्रश्वासमा देखिने समस्या, वाकवाकी, कमजोरीलगायतका लक्षण व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्ने लक्ष्य राखिएको बताइएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठका अनुसार प्रसामक सेवा क्यान्सरबाहेक दीर्घकालीन मिर्गौला रोग, मुटु तथा कलेजोका गम्भीर रोग, जटिल श्वासप्रश्वाससम्बन्धी रोग तथा स्नायु र मस्तिष्कसम्बन्धी गम्भीर तथा दीर्घरोगी बिरामीका लागि पनि आवश्यक हुन्छ । प्रसामक सेवाको मुख्य उद्देश्य रोगलाई पूर्ण रूपमा निको पार्नु मात्र नभई बिरामीको पीडा र अन्य कष्टकर लक्षण कम गर्दै सम्भव भएसम्म जीवनको गुणस्तर सुधार गर्नु हो । यसमा बिरामीसँगै परिवारलाई आवश्यक परामर्श र मनोसामाजिक सहयोगसमेत महत्त्वपूर्ण मानिन्छ । कोशी प्रदेशका १४ वटै जिल्लालाई एउटै विशेषज्ञ स्वास्थ्यसेवा नेटवर्कमा जोड्ने यो पहल सफल भएमा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको भौतिक उपस्थितिको अभावलाई प्रविधिमार्फत केही हदसम्म पूर्ति गर्न सकिने छ । विशेष गरी उपचारको अन्तिम चरणमा रहेका क्यान्सरका बिरामीलाई अस्पतालकेन्द्रित सेवाबाट समुदाय र घरपरिवारनजिकैको हेरचाहतर्फ लैजान यसले महत्त्वपूर्ण आधार तयार गर्न सक्ने अपेक्षा गरिएको छ ।


