इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरीमा नगर नेतृत्वका लागि आकांक्षीहरूबीच सक्रियता बढेको छ।

इटहरी कांग्रेसको नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका विकास केसीले पार्टीभित्रको एकता बलियो बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउने स्पष्ट योजनासहित आफू नेतृत्वको दौडमा रहेको बताएका छन्। उनले इटहरी उपमहानगरपालिकाका २० वटै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन हुनु सकारात्मक सुरुवात भएको बताए। ‘समस्त नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाझ महाधिवेशन उत्सव र चाडपर्वका रूपमा छाएको छ,’ केसीले भने, ‘इटहरीका २० वटै वडामा एकताको अधिवेशन गर्नुपर्छ भनेर हामीले आह्वान गरेका थियौँ, सोहीअनुसार सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ।’ नगर सभापतिका आकांक्षी केसीले आफू लामो समयदेखि इटहरी कांग्रेसको संगठनमा निरन्तर क्रियाशील रहेको बताए।

अघिल्ला दुई कार्यकालमा थोरै मतले पराजित भए पनि निराश नभई संगठन र कार्यकर्तामाझ निरन्तर सक्रिय रहेकाले यसपटक आफूलाई नेतृत्वमा ल्याउनुपर्ने आवाज वडादेखि नै उठिरहेको उनको दाबी छ। ‘कार्यकर्ता साथीहरूले मेरो उम्मेदवारीलाई सहर्ष स्वीकार गरेर ठूलो हौसला दिनुभएको छ,’ उनले भने, ‘विकास केसीलाई न्याय गर्नुपर्छ र नेतृत्वमा ल्याउनुपर्छ भनेर विभिन्न वडाबाट आवाज आइरहेको छ।’ इटहरी कांग्रेसको नगर सभापतिमा सर्वसम्मतिको प्रयास भइरहेको विषयमा उनले सहमति र एकताको निर्णय आफूले स्वीकार गर्ने स्पष्ट पारे। इटहरीका वरिष्ठ नेता मेदिनप्रसाद सिटौलाको संयोजकत्वमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको भन्दै केसीले समितिले अर्को योग्य व्यक्तिलाई जिम्मेवारी दिए पनि आफू पार्टीमै रहेर काम गर्ने बताए। ‘समितिले मलाई जिम्मेवारी दिएमा सबैलाई मिलाएर अघि बढ्छु, अन्य योग्य साथीलाई जिम्मेवारी दिइए पनि मेरो असन्तुष्टि रहने छैन,’ उनले भने, ‘सहमति नभएको अवस्थामा भने हामी लोकतान्त्रिक अभ्यास अर्थात् निर्वाचनमा जान तयार छौँ।’ केसीले आफू नगर सभापति बने इटहरी कांग्रेसको आफ्नै पार्टी कार्यालय निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताए।

उनका अनुसार अहिले इटहरी कांग्रेसको आफ्नै भवन छैन। ‘निर्वाचित भएपछि भाडाको घर छाडेर इटहरीमा आफ्नै सुविधासम्पन्न पार्टी कार्यालय स्थापना गर्नेछु,’ उनले भने। त्यसैगरी उनले नेतृत्व सम्हालेको केही महिनाभित्रै राष्ट्रिय स्तरका युवा नेता तथा कांग्रेस सभापति गगन थापालाई इटहरी ल्याएर पाँच हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने भव्य कार्यक्रम आयोजना गर्ने योजना सुनाए। केसीले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, प्रेस युनियन, मजदुर तथा शिक्षक संघलगायत भातृ तथा शुभेच्छुक संस्थालाई पूर्ण रूपमा सक्रिय बनाउने आफ्नो योजना रहेको बताए। ३० वर्षमुनिका युवालाई प्रविधि, कृत्रिम बुद्धिमत्ता ९एआई० र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पार्टीको प्रचार–प्रसारमा जोड्ने गरी प्रशिक्षण सञ्चालन गर्ने उनको भनाइ छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले अहिलेको अधिवेशनलाई नै चुनावी अभियानसँग जोडेर अघि बढ्ने बताए। ‘विगतका केही आन्तरिक तिक्ततालाई न्यूनीकरण गर्दै अहिले हामी एकढिक्का भएका छौँ,’ केसीले भने, ‘अबको अधिवेशनलाई आगामी चुनावसम्मकै अभियानका रूपमा लैजानुपर्छ।’

नयाँ भनिएका दलहरूबारे जनताले छोटो समयमै अनुभव गरिसकेको दाबी गर्दै उनले आगामी निर्वाचनमा इटहरीबाट कांग्रेसलाई कम्तीमा २५ हजार मत ल्याएर विजयी गराउने लक्ष्यसहित आफू मैदानमा उत्रिएको बताए। वडा अधिवेशनबाट सर्वसम्मत निर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै केसीले नगरमा पनि सर्वसम्मतिको वातावरण बनाउन आग्रह गरेका छन्। तर निर्वाचनमा जानुपर्ने अवस्था आए आफूले संगठनका लागि दिएको लामो समय, त्याग र प्रतिबद्धताको मूल्याङ्कन गर्दै मतदान गर्न उनले प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। ‘यदि निर्वाचनमै जानुपरेमा मेरो लामो राजनीतिक सक्रियता, त्याग र प्रतिबद्धताको मूल्याङ्कन गरी अमूल्य मतदान गरेर विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उनले भने। विकास केसीसँगको पूरा अन्तर्वार्ता प्रदेश खबरको आधिकारिक युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ।