इटहरी स् सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीले रुखको हाँगा भाँचिँदा लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्जु–६ चिमडीका हेमनारायण यादवकी ३८ वर्षीया श्रीमती सीता यादव रहेकी छन् । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर गाईवस्तुका लागि घाँस काट्न बर्जु ताल नजिक पुगेका बेला उनलाई हावाहुरीले भाँचिएको सिमलको हाँगाले लागेको थियो ।

हाँगाले लागेर गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि विराटनगरस्थित मोरङ सरकारी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि दिउँसो ४ः२८ बजेतिर बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।