इटहरी स्   चालू आर्थिक वर्ष २०८३र८४ को बजेट समयमै कार्यान्वयन गरी योजना सम्पन्न गर्ने उद्देश्यले झापाको बुद्धशान्ति गाउँपालिका–१ ले कामलाई तीव्रता दिएको छ।

वडा कार्यालयले होक्से चोकदेखि वडा कार्यालय जोड्ने सडक कालोपत्रेको काम अघि बढाएको छ। करिब डेढ किलोमिटर लामो उक्त सडक असोजभित्रै कालोपत्रे गर्ने लक्ष्यसहित काम सुरु गरिएको वडा कार्यालयले जनाएको छ। वडा अध्यक्ष अनिल वाग्लेका अनुसार संघ र प्रदेश सरकारबाट विनियोजन भएका योजनाको काम समयमै सम्पन्न गर्न पहिलो चरणका आवश्यक तयारी पूरा गरिएको छ। चालू आर्थिक वर्षमा बुद्धशान्ति–१ मा संघ र प्रदेशबाट २९ भन्दा बढी योजना परेका छन्।

‘संघ र प्रदेशबाट आएका योजनालाई समयमै कार्यान्वयन गर्ने गरी वडा कार्यालयले आवश्यक तयारी अघि बढाएको छ,’ अध्यक्ष वाग्लेले भने। गत आर्थिक वर्षमा पनि बुद्धशान्ति–१ मा संघ र प्रदेशबाट उल्लेख्य संख्यामा योजना परेका थिए। तीमध्ये अधिकांश सडक कालोपत्रे भइसकेका छन्। वडाले चालू आर्थिक वर्षका योजनालाई पनि प्राथमिकताका आधारमा अघि बढाउँदै समयमै निर्माण सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।