इटहरी। स्याउ उत्पादन हुने क्षेत्रका रुपमा प्रख्यात जुम्ला जिल्लाबाट स्याउ ताप्लेजुङ ल्याएर बिक्री गरिएको छ । जुम्लाको सिँजामा उत्पादन भएको स्याउ व्यवसायीले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा ल्याएर बिक्री गरेका हुन् ।

जुम्लाको अर्गानिक स्याउ पहिलोपटक ताप्लेजुङमा ल्याएर बिक्री गरिएको व्यवसायीले बताएका छन् । जुम्लाकै व्यवसायी हिक्मत आचार्य र तीर्थराज हमालले स्याउ ल्याएर बिक्री गर्नुभएको हो । गाडीमा स्याउ लोड गरेर हिँडेको छ दिनपछि ताप्लेजुङ आइपुगेको व्यवसायी आचार्यले बताउनुभयो ।

जुम्लाको स्याउ लिएर आइतबार आइपुगेको र सोही दिन करिब दुई हजार ४०० किलोग्राम स्याउ बिक्री गरिएको व्यवसायी आचार्यले जानकारी दिनुभयो । जुम्लामा उत्पादन भएको अर्गानिक स्वादिलो स्याउ भएकाले उपभोक्ताले निकै रुचाउने गरेका अर्का व्यवसायी तीर्थराज हमालले बताउनुभयो । व्यवसायी हमालका अनुसार जुम्लाको सिँजा गाउँपालिकास्थित रोजिखोला क्षेत्रमा उत्पादन भएको रोयल डेलिसियस र रेड डेलिसियस जातको स्याउ ताप्लेजुङमा ल्याएर बिक्री गरिएको हो । ताप्लेजुङमा थोकबिक्री ९होलसेल० मूल्य प्रतिकिलोग्राम २२० रुपियाँका दरले स्याउ बिक्री गरिएको उहाँले बताउनुभयो । जुम्लाको विषादीरहित अर्गानिक स्याउ पहिलोपटक ताप्लेजुङ ल्याएर बिक्री गरिएको र यहाँका स्थानीय व्यवसायी तथा उपभोक्ताले स्याउ रुचाई दिनुभएको अर्थात मन पराएको पाउँदा व्यापारमा आफूहरुलाई थप उत्साहित बनाएको पनि व्यवसायी हमालले बताउनुभयो । जुम्लाको स्याउ ताप्लेजुङ ल्याइपुर्‍याउना साथ हारालुछ बिक्री भएको उहाँले बताउनुभयो ।

जुम्लादेखि ताप्लेजुङ सम्मको दुरी धेरै टाढा रहेको र ढुवानी खर्च पनि निकै महङ्गो पर्ने भएकाले स्याउको व्यापारमा भने चुनौती रहेको हमालले बताउनुभयो । विभिन्न चुनौती आइपर्ने भए पनि जुम्लामा फल्ने अर्गानिक स्याउको प्रवर्धन गर्न, स्याउ खेतीमा किसानको आकर्षण बढाउन र उनीहरुलाई आत्मनिर्भर बनाउनमा सहयोग पुर्‍याउने उद्देश्यले समेत नेपालका विभिन्न जिल्लासम्म पुगेर स्याउ बिक्री गर्दै आइरहेको उहााले बताउनुभयो । यता जुम्लाको स्याउ पहिलोपटक ताप्लेजुङ ल्याइपुर्‍याउँदा धेरैले मन पराएको र माग उच्च भएको पाइएको व्यवसायी आचार्यले बताउनुभयो । उहाँले सम्भव भएसम्म आगामी दिनमा जुम्लाको स्याउ ताप्लेजुङमा ल्याएर हरेक मौसममा बिक्री गर्ने बताउनुभयो ।