इटहरी स् मोरङको रंगेली नगरपालिका–१ सरदा टोलमा पूजा गरेर बालिएको दियोबाट सल्किएको आगोले किराना पसलमा ठूलो क्षति पुर्‍याएको छ।

प्रहरीका अनुसार शनिबार राति करिब १०ः२० बजेतिर ४५ वर्षीय नरेश चौधरीको पक्की एकतले किराना पसलमा पूजा गर्न बालिएको दियोबाट अचानक आगलागी भएको हो। आगलागीबाट पसलभित्र रहेका विभिन्न सामान जलेर नष्ट हुँदा करिब १० लाख ३९ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन। आगलागीको सूचना पाएलगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए। स्थानीय र दमकलको सहयोगमा करिब डेढ घण्टापछि आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भए पनि आसपासका घरमा क्षति हुनबाट भने जोगाइएको छ। घटनासम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।