इटहरी/ सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित कोशी प्रदेशमै पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार अर्थात् भदौ १ गते दिउँसो १२ बजेबाट इटहरीको आइतबारेस्थित 'आरोमा बाई ओसियन रेस्टुरेन्ट'मा आयोजित अडिसनले सौन्दर्यकर्मी महिलाहरूमा नयाँ उत्साह थपेको छ ।
आयोजक कुजु मोटर्स र प्रस्तुतकर्ता सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा भइरहेको यस कार्यक्रमले समावेशितालाई उच्च प्राथमिकता दिएको छ । सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले यस प्रतियोगितामा उमेरको कुनै हदबन्दी राखिएको छैन भने विवाहित र अविवाहित दुवै महिलाले निर्धक्क प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ । "जहाँ सौन्दर्यले आत्मविश्वास, प्रतिभा र ताजको संगम गराउँछ" भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै भएको यस अडिसनमा इटहरी, दुहबी, भोजपुर लगायतका क्षेत्रबाट १५ जना ब्युटिसियन महिलाहरूले सहभागी जनाए ।
अडिसनमा सहभागी ब्युटिसियन महिलाहरूको कला र क्षमताको सूक्ष्म मूल्याङ्कन गर्न विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सम्मिलित विशेषज्ञ निर्णायक मण्डल चयन गरिएको थियो । जसमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका महासचिव तथा मिस्टर भ्याली २००७ का सेकेन्ड रनरअप दिनेश कोइराला, ममता किन्डरगार्टेनका संस्थापक/निर्देशक विनिता ढकाल र समाजसेवी, सदस्य (दुहबी नगरपालिका), न्यु सुमिना ब्युटी सैलुनकि सञ्चालिका, दुहबी जेसिजका महासचिव एवम् सिनियर ब्युटी ट्रेनर मीना श्रेष्ठ राई रहेका थिए ।
कार्यक्रमकी निर्देशक उर्मी मगरका अनुसार, दोस्रो चरणको छनोट प्रक्रिया सकिएसँगै अबको केही दिनमै इटहरीमा छनोट भएका प्रतिस्पर्धीहरूका लागि प्रशिक्षण सत्र सुरु गरिनेछ । यो प्रतियोगिता केवल बाहिरी सौन्दर्य र ताजमा मात्र सीमित छैन, यसले प्रतिस्पर्धीहरूको समग्र व्यावसायिक विकासलाई जोड दिएको छ । आयोजकका अनुसार छनोटमा पर्ने सबै प्रतिस्पर्धीले सौन्दर्य विज्ञहरूबाट एश कलर मास्टरक्लास, वाटरप्रुफ मेकअप र मास्टर हेयरकटको प्रत्यक्ष तालिम, सैलुनको व्यापार बढाउन क्लाइन्ट म्यानेजमेन्ट र मार्केटिङ सम्बन्धी विशेष ‘बिजनेस ग्रोथ क्लास’ लिन पाउने छन् ।
यस्तै प्रोफेसनल ग्रुमिङ, पोर्टफोलियो फोटोसुट र प्रत्यक्ष मेन्टरसिप साथै सोसल मिडिया एक्सपोजर, प्रमाणपत्र तथा आत्मविश्वास बढाउन हाइकिङ र टिम बिल्डिङका गतिविधिहरूमा समेत सामेल गराइनेछ । प्रतियोगिताको विजेताले आकर्षक ताज र ट्रफीसहित रु. १ लाखभन्दा बढी मूल्य बराबरको पुरस्कार जित्नेछन् । यसका साथै, विजेतालाई मिडिया कभरेज, प्रोफेसनल फोटोसुट र प्रतिष्ठित ब्रान्डहरूसँग सहकार्य गर्ने सुनौलो अवसर समेत प्रदान गरिनेछ । सौन्दर्य उद्योगमा आफ्नो छुट्टै व्यावसायिक पहिचान र दबदबा बनाउन चाहने सम्पूर्ण महिलाहरूका लागि यो प्रतियोगिता साँच्चिकै एक ‘लाइफटाइम अनुभव’ बन्ने आयोजकको भनाइ छ ।


