झापा : वर्षायाम सुरु भएयता जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबाट झापामा नौजना संक्रमित भएका छन्। संक्रमितमध्ये पाँचजनाको मृत्यु भएको छ भने एकजना उपचाररत छन्।
तीनजना उपचारपछि डिस्चार्ज भएका छन्। स्वास्थ्य कार्यालय झापाका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। जिल्लामा संक्रमित हुनेमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एकजना छन्। संक्रमितमध्ये पाँच पुरुष र चार महिला छन्। स्वास्थ्य कार्यालयका अनुसार अधिकांश संक्रमित ५० वर्षभन्दा माथिका छन्। संक्रमितमध्ये सात महिनाका एक बालक र ४० वर्षका एक व्यक्ति पनि छन्। स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार वर्षायामसँगै लामखुट्टेको सक्रियता बढ्ने भएकाले जेई संक्रमणको जोखिम पनि बढेको छ। संक्रमितको संख्या बढ्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
देशभर ८३० संक्रमित
मृतकमध्ये झापाका पाँचजना छन्। धनुषा, सुनसरी, मोरङ, इलाम, रौतहट, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको महाशाखाको तथ्यांकमा उल्लेख छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा संक्रमण सबैभन्दा बढी देखिएको छ। कोशीमा २४२ जनामा संक्रमण पुष्टि भएको छ। बागमतीमा १५७, लुम्बिनीमा १०४, मधेसमा ९६, सुदूरपश्चिममा ८७ र कर्णालीमा ६४ जनामा संक्रमण देखिएको छ। जेई संक्रमण एकदेखि ६० वर्षसम्मका व्यक्तिमा देखिएको छ। संक्रमणको दायरा हेर्दा बालबालिकादेखि वृद्ध उमेर समूहसम्मका व्यक्ति जोखिममा रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।
पानी पर्ने समयमा जोखिम
परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार वर्षायाममा जेई संक्रमण बढी देखिने गर्छ। पानी जम्ने स्थान र लामखुट्टेको प्रजननस्थल बढ्ने भएकाले वर्षायाममा संक्रमणको जोखिम उच्च हुने उनको भनाइ छ। उनका अनुसार संक्रमितमध्ये ठूलो संख्या जेईविरुद्धको खोप नलगाएका व्यक्तिको रहेको छ। त्यसैले संक्रमण नियन्त्रणका लागि खोपसँगै लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्ने स्वास्थ्य अधिकारीहरूको सुझाव छ। जेई संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। क्युलेक्स जातका लामखुट्टे जेई भाइरसका प्रमुख वाहक हुन्। संक्रमित लामखुट्टेले टोकेपछि भाइरस रगत हुँदै मस्तिष्कसम्म पुग्दा गम्भीर अवस्था निम्तिन सक्छ।
सुँगुर र हाँसबाट पनि जोखिम
जापानिज इन्सेफ्लाइटिस फ्लाभिभाइरस समूहअन्तर्गत पर्ने रोग हो। यही समूहमा डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि पर्छन्। सुँगुर र हाँसलाई जेई भाइरसको प्राकृतिक स्रोतका रूपमा लिइन्छ। संक्रमित जनावरबाट लामखुट्टेमा भाइरस सर्ने र त्यही लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण हुने गर्छ। धानखेत, पानी जम्ने क्षेत्र र सुँगुर तथा हाँस पालिएका स्थान आसपास बसोबास गर्ने मानिस संक्रमणको जोखिममा बढी रहने स्वास्थ्य विज्ञहरू बताउँछन्। झापामा धानखेतीको क्षेत्र ठूलो हुनुका साथै ग्रामीण क्षेत्रमा पशुपालनसमेत हुने भएकाले जेई नियन्त्रण चुनौतीपूर्ण मानिन्छ। संक्रमण भएपछि गम्भीर असर जेई संक्रमण भएका सबैमा गम्भीर लक्षण देखिँदैन। तर भाइरसले मस्तिष्कमा असर गरेमा उच्च ज्वरो, टाउको दुख्ने, वाकवाकी हुने, बेहोस हुने, झट्का आउने तथा चेतनाको अवस्था बिग्रिनेजस्ता समस्या देखिन सक्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार जेईका कारण गम्भीर बिरामी भएका व्यक्तिमध्ये करिब एकतिहाइको मृत्यु हुन सक्छ। संक्रमणबाट बाँचेकामध्ये पनि करिब आधामा दीर्घकालीन स्नायुसम्बन्धी समस्या वा अपांगता देखिन सक्ने जोखिम हुन्छ। स्वास्थ्य अधिकारीहरूका अनुसार जेईको उपचारका लागि भाइरसलाई नै नष्ट गर्ने विशेष औषधि उपलब्ध छैन। त्यसैले समयमै स्वास्थ्य संस्थामा पुगेर लक्षणअनुसार उपचार गराउनु महत्वपूर्ण हुन्छ।
खोप र लामखुट्टे नियन्त्रणमा जोड
स्वास्थ्य कार्यालयले जेईबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। घर आसपास पानी जम्न नदिने, राति सुत्दा झुलको प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने तथा लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने उपाय अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। झापामा संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको अवस्थामा स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी निगरानी र जनचेतनामूलक गतिविधि बढाउनुपर्ने आवश्यकता देखिएको छ। वर्षायाम अझै बाँकी रहेकाले संक्रमणको जोखिमलाई सामान्य रूपमा नलिन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।


