इटहरी : उपभोक्तालाई कम तौलको एलपी ग्यास बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवनराज कोइरालाका अनुसार बजार अनुगमनका क्रममा उद्योगमा रहेका रिफिल गरिएका ग्यास सिलिन्डरको तौल परीक्षण गर्दा कैफियत भेटिएको हो। अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरेको थियो। तीमध्ये एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको प्रशासनले जनाएको छ। बाँकी ६३ वटा सिलिन्डरको औसत तौलसमेत मापदण्डभन्दा कम पाइएको थियो।
खाली सिलिन्डरको तौल परीक्षण गर्दा समेत तोकिएकोभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौल देखिएको प्रशासनले जनाएको छ। यसले उपभोक्तालाई तोकिएको परिमाणभन्दा कम ग्यास उपलब्ध गराएको देखिएको प्रशासनको निष्कर्ष छ। यस्तै, अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनका दिन बन्द रहेको पाइएपछि उद्योगविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ। यसैगरी, अनुगमनमा सहयोग नगरेको भन्दै विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमन टोलीलाई जाँचबुझ तथा निरीक्षणमा सहयोग नगरेको पाइएपछि ट्रेडर्सलाई कारबाही गरिएको प्रशासनले जनाएको छ।


