इटहरीः इटहरी उपमहानगरपालिका–९ भद्रटोलमा डेरा गरी बस्दै आएका तथा जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटनामा पक्राउ परेका उनका बुबा, सौतेनी आमा र दुई काकालाई अनुसन्धानका लागि अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।  इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई निरन्तर शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धिसागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ। उनीहरूमाथि सोही आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  घटनाले बुधबारदेखि इटहरीमा व्यापक चर्चा र आक्रोश सिर्जना गरेको थियो। सरोजको शव मावली पक्षलाई जानकारी नै नदिई दाहसंस्कार गर्न लागिएको भन्दै उनका साथीहरू र विद्यार्थीहरूले विरोध जनाउँदै शव नियन्त्रणमा लिएका थिए। उनीहरूले सरोजलाई आफ्नै परिवारको शारीरिक तथा मानसिक यातनाका कारण आत्महत्या गर्न बाध्य पारिएको दाबी गर्दै निष्पक्ष छानबिनको मागसहित आन्दोलन सुरु गरेका थिए।

विद्यार्थीहरूले सरोज बस्दै आएको घर घेराउ गर्दै घटनाको सूक्ष्म अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए। आन्दोलन तीव्र बनेपछि प्रहरीले सरोजका बुबा, सौतेनी आमा र दुई काकालाई नियन्त्रणमा लिएको हो। त्यसपछि शवलाई थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) को शवगृहमा राखिएको थियो।  बुधबार साँझ आयोजित श्रद्धाञ्जली र्‍याली तथा कोणसभामा विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका थिए।  उनीहरूले सरोजको आँखामा स्पष्ट चोट देखिएको भए पनि प्रारम्भिक अनुसन्धानमा प्रहरीले त्यसलाई गम्भीर रूपमा नलिएको र आन्दोलनपछि मात्रै पक्राउ प्रक्रिया अघि बढाएको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएका थिए।  बिहीबार पनि विद्यार्थीहरू इटहरीको मुख्य चोकमा उत्रिए। उनीहरूले सरोजलाई न्याय दिलाउन, पक्राउ परेकाहरूलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन र अनुसन्धान निष्पक्ष रूपमा सम्पन्न गर्न माग गरे। त्यसक्रममा उनीहरूले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर घटनामा दोषी देखिएकामाथि कडा कानुनी कारबाही सुनिश्चित गर्न पहल गरिदिन आग्रह गरेका थिए। 

मेयर पौडेलले सरोजको मृत्यु अत्यन्त दुःखद भएको उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको र कानुनी प्रक्रियामा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।