इटहरी । मोरङको विराटनगर महानगरपालिका–४ आयल निगमस्थित कोशी राजमार्गमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

आइतबार राति बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बीआर ११ एडब्लू १७२८ नम्बरको भारतीय मोटरसाइकलले सडक पार गर्दै हिँडिरहेका करिब ५० वर्षीय नेपाल सरकारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सरकार भारतको कोलकाताका स्थायी बासिन्दा भए पनि केही समयदेखि विराटनगर–४ कदमगाछीस्थित भरत चौधरीको घरमा डेरा गरी बस्दै आएका थिए।  दुर्घटनामा

टाउको, गाला र निधारमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगर लगिएको थियो। उपचारकै क्रममा राति करिब ९ः२० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल, चालक भारतको जोगवनी निवासी २८ वर्षीय शौरभकुमार सुमन साह तथा पछाडि सवार २६ वर्षीय मोहम्मद दानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।