इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २, आयुर्वेदिक टोलस्थित ‘माया घर नेपाल’को नवनिर्मित ३ तले पक्की भवनको सोमबार एक विशेष समारोहका बिच औपचारिक समुद्घाटन तथा हस्तान्तरण सम्पन्न भएको छ।

सडक मानव, असहाय, मानसिक स्वास्थ्य समस्या भएका तथा बेवारिसे व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पुनस्र्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको माया घर नेपाल केन्द्रीय कार्यालय इटहरीको प्राङगणमा नव निर्मित भवनको उदघाटन र हस्तान्तरण एकै साथ सम्पन्न भएको हो ।  लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन एलसिआइएफको वित्तीय सहयोग तथा स्थानीय लायन्स क्लबहरूको पहलमा निर्माण सम्पन्न भएको ‘लायन्स माया घर’ भवन सोमबार एक विशेष समारोहका बिच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। 

कुल रु. १,७२,४९,८८८.१५ को लागतमा निर्मित यो (तीन तला) भवन ४,६०५.७५ वर्गफुट क्षेत्रफलमा फैलिएको छ। नवनिर्मित भवनमा १५ शय्या (बेड) र ९ वटा शौचालयको सुविधा रहेको छ। यो परियोजना लायन्स क्लब अफ इटहरी सुनसरी, लायन्स क्लब अफ मनकामना र लायन्स क्लब अफ इटहरी सिटीको संयुक्त अग्रसरतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता एलसिआइएफ ग्रान्ट प्रशासक तथा पूर्व डिस्ट्रिक्ट गभर्नर (एम्न्) लायन विजय हरि शर्माले गर्नुभएको थियो। समारोहमा प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय निर्देशक लायन राजन लम्साल  तथा अतिथिमा पूर्व डिस्ट्रिक्ट गभर्नर लायन इन्दु लम्सालको उपस्थिति रहेको थियो। त्यसैगरी, कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन लिला चिमरिया, इटहरी उपमहानगरपालिकाका नम्बर २ का अध्यक्ष माधव कोइराला, डिस्ट्रिक्ट प्रथम महिला लता चिमरिया विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

समारोहका वक्ताहरूले सेवाभावले निर्मित यस भवनले असाहाय तथा अशक्त नागरिकको आवास र हेरचाहमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। समाजसेवाको क्षेत्रमा लायन्स क्लबहरूले गर्दै आएको योगदानको प्रशंसा गर्दै माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले यस्ता मानवीय कार्यमा सधैँ सहकार्य गर्न तत्पर रहेको उललेख गरिन । अध्यक्ष प्याकुरेलले  दाताहरूकै माया र दिएको दानबाट सञ्चालन भइरहेको माया घरलाइ आफ्नै सम्झेर तिन तले भवन बनाइ उदघाटन संगै हस्तान्तरण पनि गरेपछि लायन्स प्रति आभार र धन्यवाद प्रकट गरिन ।