दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश समितिको तेस्रो विस्तारित बैठक प्रदेश अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा झापाको दमकमा सम्पन्न भएको छ। कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम बस्नेत प्रमुख अतिथि तथा एमाले केन्द्रीय सदस्य एवं झापा इन्चार्ज रोमनाथ ओली प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।

बैठकमा महासंघका केन्द्रीय महासचिव धरम लामा, योगेश बस्नेत, राजकुमार थापा, सन्तोषी श्रेष्ठ, सुरज श्रेष्ठ, अनुप अधिकारी, किशोर पौडेल, शान्ता श्रेष्ठ, बिना बस्नेत, युगल भुसाललगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले विगतमा सञ्चालन भएका संगठन निर्माण, खेलकुद विकास, जनपरिचालन तथा वैचारिक अभियानहरूको समीक्षा गर्दै उपलब्धिसँगै कमजोरीहरूलाई आत्मसात गरी अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले संगठनभित्र अनुशासन, जिम्मेवारीबोध र वैचारिक स्पष्टता कायम राख्दै अवसरवाद, निष्क्रियता तथा गुटगत प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै प्रमुख वक्ता रोमनाथ ओलीले पार्टी र जनवर्गीय संगठनमा अनुशासन अपरिहार्य रहेको उल्लेख गर्दै सहज अवस्थामा उत्साहित हुने तर संकटमा पछि हट्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने बताउनुभयो। महासंघका महासचिव धरम लामाले केन्द्रदेखि तल्लो तहसम्म संगठनात्मक संरचना सुदृढ गर्दै खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

बैठकमा प्रदेश अध्यक्ष रोहित कोइरालाले सहभागीहरूले दिएका सुझाव र उठाएका प्रश्नहरूको जवाफ दिँदै मातहतका समितिहरूलाई चलायमान बनाउने, खेलकुद गतिविधि तथा रचनात्मक कार्यक्रमलाई प्राथमिकतामा राख्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीलाई कोशी प्रदेशको पहिलो शक्ति बनाउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। केन्द्रीय पदाधिकारी बैठकबाट जारी निर्देशनहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने, प्रदेशभर संगठनको वर्तमान अवस्थाको समीक्षा गर्दै कमजोरी सुधार गर्ने, ‘एक समिति एक खेलकुद कार्यक्रम तथा एक समिति एक रचनात्मक गतिविधि’ अभियान अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

यस्तै जननेता मदन भण्डारीको सम्मानमा असार १४ गतेको मदन जयन्तीलाई लक्षित गर्दै प्रदेश तथा मातहतका सबै समितिले सप्ताहव्यापी खेलकुद प्रतियोगिता, रक्तदान, अन्तरक्रिया, सामाजिक सेवा तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। साथै पार्टीको पालिका केन्द्रित जागरण अभियानलाई प्रभावकारी बनाउन सबै तहका समितिहरू सक्रियतापूर्वक परिचालन हुने जनाइएको छ।

बैठकमा हालै कोशी प्रदेश खेलकुद विकास बोर्डमा नियुक्त भएका सदस्यसचिव विप्लव घोष, उपाध्यक्ष सन्तोषी श्रेष्ठ तथा सदस्यहरू केशव भट्टराई, बिना बस्नेत र ईश्वर विक्रम शाहलाई बधाई तथा सम्मानसमेत गरिएको थियो।

यसैबीच महासंघका केन्द्रीय सचिवालय सदस्य एगेन गुरुङको असामयिक निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको महासंघले जनाएको छ।