इटहरी ।  कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट पेश गर्ने तयारी गर्नुभएको हो । यद्यपि, प्रदेशसभा सचिवालयले अहिलेसम्म औपचारिक कार्यसूची भने प्रकाशन गरिसकेको छैन ।यस पटक कोशी सरकारले ४० अर्ब रुपियाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।चालु आर्थिक वर्ष २०८२÷८३ को तुलनामा झण्डै चार अर्ब ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो । चालु वर्षमा सरकारले ३६ अर्ब दुई करोड रुपियाँको बजेट ल्याएको थियो ।

सङ्घीय सरकारको बजेटको आकार बढ्दा प्रदेशलाई दिने अनुदान र राजश्व बाँडफाँडको रकम पनि केही वृद्धि भएको र चालु वर्षमा बजेट कार्यान्वयन प्रदेश स्थापना भएपछिकै न्यून भएका कारण स्रोत बचत भएका कारण त्यसलाई समेत जोडेर सरकारले बजेटको आकार बढाउन लागेको हो । बजेटमा विगतमा जस्तै भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।मन्त्री लिङ्थेपका अनुसार शिक्षा, स्वास्थ्य र सूचना प्रविधिलाई पनि उच्च प्राथमिकतामा राखिएको छ ।

  सङ्घीय सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क तथा ५० युनिटभन्दा बढी बिजुली खपतमा लगाएको भ्याटका कारण मारमा परेका निम्न मध्यम वर्ग र सुकुम्बासीलाई राहत दिने गरी प्रदेशले केही विशेष कार्यक्रमहरू ल्याउने तयारी गरेको बताइएको छ । चालू आर्थिक वर्षमा सरकारले करिब ३० अर्ब हाराहारी मात्र आम्दानी गर्ने र त्यसको ७० प्रतिशत मात्र खर्च हुने अवस्था देखिएका कारण आगामी वर्षको बजेटको आकार बढाउन लागिएको हो ।

खर्च घटेका कारण वैशाख मसान्तसम्म प्रदेशको सञ्चित कोषमा १२ अर्ब ८१ करोड ४१ लाख रुपियाँ नगद मौज्दात रहेको थियो । यही मौज्दात र संघीय अनुदानलाई आधार मानेर सरकारले आगामी वर्षका लागि ठुलो आकारको बजेट ल्याउन लागेको हो ।