इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी–११ फुटबल क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३ आगामी असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक क्लबले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति तथा तयारीबारे जानकारी दिएको हो । क्लबका सचिव केशर थुलुङले वार्षिक रूपमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यअनुसार गोल्डकपको तेस्रो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो । उक्त प्रतियोगिता सञ्चालनका लागि ८० लाख रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण समेत सार्वजनिक गरिएको छ । सार्वजनिक बजेटअनुसार प्रतियोगिताको कुल आम्दानी र खर्च दुवै ८० लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। ट्रफी, मेडल, विधागत पुरस्कार तथा अन्य व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको छ । सहभागी टोली व्यवस्थापनका लागि मात्रै २५ लाख रुपैयाँ छुट्याइएको छ भने प्यारापिट निर्माण, रेफ्री पारिश्रमिक, सुरक्षा व्यवस्था, प्रचारप्रसार, फोटो तथा भिडियो सुटिङ, साउण्ड सिस्टम र मैदान व्यवस्थापनलगायत शीर्षकमा पनि खर्च अनुमान गरिएको छ ।
आम्दानीतर्फ पथरी शनिश्चरे नगरपालिकाबाट २० लाख रुपैयाँ सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ । साथै मुख्य प्रायोजक, सह–प्रायोजक, विभिन्न व्यवसायिक प्रतिष्ठान, निजी विद्यालय तथा स्वदेश–विदेशमा रहेका शुभेच्छुकहरूबाट सहयोग संकलन गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुमन विकले प्रतियोगिताले फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रवद्र्धन तथा खेल पर्यटनलाई टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रतियोगिता सफल बनाउन सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी, व्यवसायी र खेलप्रेमी सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।


