इटहरी । छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता–२०८२ चैत २२ गतेबाट हुने भएको छ ।
बिहीबार इटहरीको संगीत चोकमा पत्रकार सम्मेलन गर्दै इटहरी–६ स्थित इटहरी भेट्रान क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता चैत २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको हो । प्रतियोगिताका सबै खेलहरू जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् ।

आयोजकका अनुसार प्रतियोगितामा स्वदेश तथा विदेशका विभिन्न भेट्रान टिमहरूको सहभागिता रहनेछ । प्रतियोगिताले खेलकुदको विकास, स्वस्थ जीवनशैली प्रवद्र्धन तथा आपसी भाइचारा मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
क्लबका अध्यक्ष राम शरण चौधरीले पुराना खेलाडीहरूलाई पुनः खेलमा आबद्ध गराउने र उनीहरूको सम्मानका लागि प्रतियोगिता निरन्तर सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रम संयोजक सुनिल तामाङ र पूर्व अध्यक्ष तथा क्याप्टेन दिवस राई लगायतको उपस्थिति रहेको थियो।


