मोरङ/ मोरङको उर्लाबारीमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सेवा पहुँच परियोजना अन्तर्गत सामाजिक र वित्तीय सिप रूपान्तरणसम्बन्धी ८ दिने प्रशिक्षक तथा तालिम (TOT) सुरु भएको छ। चैत्र १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने उक्त तालिम अपाङ्ग मैत्री भवन उर्लाबारीमा आयोजना गरिएको हो।

उर्लाबारी नगरपालिका उपप्रमुख मिनाकुमारी खतिवडा पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष भिष्मराज बुढाथोकी, लैङ्गिक हिंसा निवारण विज्ञ जानकी कुँवर, मामला व्यवस्थापक स्वस्तिका पोखरेल, प्रशिक्षक संजोग ठकुरी, मनोविमर्शकर्ता कल्पना बराल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला सुब्बा लगायतको उपस्थिति रहेको थियो।

उक्त तालिममा उर्लाबारी क्षेत्रका विभिन्न विद्यालयहरूबाट १८ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरीहरूको सहभागिता रहेको छ। तालिममार्फत उनीहरूलाई सामाजिक तथा वित्तीय सिपमा सक्षम बनाउँदै लैङ्गिक हिंसा विरुद्ध सचेतना र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

यो कार्यक्रम विश्व बैंकको सहयोगमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालन गरिएको हो।

कार्यक्रमका अध्यक्ष उपप्रमुख मिनाकुमारी खतिवडा पौडेलले युवाहरूलाई सशक्त बनाउँदै लैङ्गिक हिंसा न्यूनीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

तालिमले सहभागीहरूको व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला सुब्बा बताउनुभयो।