इटहरी | रोट्रयाक क्लब अफ इटहरीले युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “सबल नेतृत्व, सक्षम युवा” शीर्षकमा नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार इटहरीस्थित होटल इन्टुरिस्टमा आयोजित उक्त कार्यक्रम रोट्रयाक सुनसरी फिमेल लिडिङ क्लब, लियो क्लब अफ इटहरी पाथिभरा तथा लेडिज अफ लिबर्टि अलायन्स (लोला) इटहरी च्याप्टर लगायत विभिन्न संस्थाहरूको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षकका रूपमा धिरज भटराईले प्रशिक्षण दिनुभएको थियो । भट्टराई रोट्राक डिस्ट्रिक ३२९२ का डिस्ट्रिक्ट को–अर्डिनेटर, सामी, मेन्टर तथा प्रेरणादायी वक्ता र सक्रिय युवा नेतृत्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले कार्यक्रममा प्रभावकारी नेतृत्व, व्यक्तिगत विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा सहभागी युवाहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमले युवाहरूलाई नेतृत्व विकासतर्फ प्रेरित गर्ने उद्देश्य राखेको र यसले इटहरी तथा आसपासका युवाहरूलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको क्लबका अध्यक्ष सितल धितालले बताउनुभयो ।
लियो क्लब अफ इटहरी पाथिभराका आयुष ढुंगेलले लियो क्लबले युवाहरूको नेतृत्व विकास तालिम तथा विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रम संयोजक मौषम कोईराला रहनुभएको उक्त कार्यक्रममा रोटर्याक्ट, लियो तथा लोलाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


