इटहरी । मोरङ्गको पथरी शनिश्चरे वडा नं २ को लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो २४ औं स्थापना दिवस मनाएको छ ।

उक्त सहकारी संस्थाले आइतबार बुद्धचोकमा स्थापना दिवसका अवसरमा एक विशेष समारोहको आयोजना गर्दै मनाएको हो । सोहि समारोहमा संस्थाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने छात्र छात्राहरू क्रमश ः अङ्किता तामाङ ( चन्द्र किरातेश्वर मावि), राशी कार्की ( बाल्मिकी मेमोरियल सेकेन्डरी स्कुल), नुमाफुङ सुब्बा ( रेडस्टार अङ्ग्रेजी मावि) , रेनासा राई  ( पञ्चायत मावि) र सरगम ढुंगेल ( न्यू पेगोडा बोर्डिङ स्कुल) लाई नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो। उक्त प्रतियोगितामा नगरभित्रका १७ वटा निजी तथा सामुदायिक विद्यालयहरूले सहभागिता जनाएका थिए ।

यसैगरी, सोही समारोहमा संस्थाका  जेष्ठ सेयर धनीहरू मध्ये एकजना जेष्ठ नागरिक वासुदेव भण्डारीलाई  दोसल्ला ओढाएर सम्मानित गरिएको थियो। सोही क्रममा संस्थामा आवद्ध ७० वर्ष माथिका ४८ जना जेष्ठ नागरिकहरुलाई ८ सय ५० का दरले त्रैमासिक पेन्सन भत्ता रकम समेत वितरण गरिएको थियो। साथै, संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी संस्था तथा रक्तदाताहरूलाई पनि  सम्मान गरिएको थियो । सोहि अवसरमा जेष्ठ नागरिक तथा अतिथिहरूलाई मिस्टान्न भोजन ( खीर ) समेत खुवाइएको थियो । वि.सं .२०५९ सालमा स्थापना भएको सो साकोसमा हाल ४ हजार बढी सेयर सदस्यहरू रहनुभएको संस्थाका अध्यक्ष दोर्ण बहादुर खड्काले बताउनुभयो। उहाँले सहकारी संस्थाका आर्थिक गतिविधि तथा सामाजिक उत्तरदायित्व अन्तर्गत  वित्तीय कारोबारमा पल्स  प्रणालीलाई आत्मसात गर्दै   सहकारी संस्थाको सातौँ सिद्धान्त अनुसार  नै समुदायिक कार्यक्रमहरू सञ्चालन गरिरहेको चर्चा गर्नुभयो ।