भोजपुर । भोजपुरको अरुण गाउँपालिका प्याउलीद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ।
माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका सातवटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ।
अरुण गाउँपालिका वडा नम्बर–७ स्थित सिक्रेटारमा रहेको श्री सगरमाथा माध्यमिक विद्यालयको प्राङ्गणमा माघ २ गते आयोजित उद्घाटन समारोह अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा तथा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई रहनु भएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर आर्थिक तथा संरचनागत सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। खेलकुदले खेलाडीलाई अगाडि बढ्न प्रेरणा दिने र अनुशासन तथा नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले खेलकुद विकास, युवाहरूमा खेलप्रतिको रुचि अभिवृद्धि तथा लुकेका प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले खेलकुदले स्वास्थ्यसँगै आर्थिक अवसर सिर्जना गर्न पनि महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ वटा विभिन्न खेल विधामा छात्र तथा छात्राबीच प्रतिस्पर्धा हुने खेल प्रशिक्षक राजन खड्काले जानकारी दिनुभयो। सोही अवसरमा पूर्व विद्यार्थी दीपक बस्नेतले खेलाडीहरूका लागि टिसर्ट वितरण गर्नुभएको थियो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमणि जिमि, अरुण गाउँपालिकाका पूर्व अध्यक्ष गजेन्द्रबहादुर कार्की, सातवटै वडाका वडा अध्यक्षहरू, सहभागी विद्यालयका खेल शिक्षकहरू, श्री सगरमाथा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापा, कर्मचारी, शिक्षक–विद्यार्थी, अभिभावक तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


