भोजपुर | करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण हुने बहुउद्देशीय आध्यात्मिक प्रतिष्ठानको शिलालेख अनावरण कार्यक्रम अरूण गाउँपालिकामा सम्पन्न भएको छ। उक्त परियोजनामा भारतीय दूतावास, काठमाडौंको ८० प्रतिशत तथा अरूण गाउँपालिकाको २० प्रतिशत आर्थिक सहयोग रहनेछ।

शिलालेख अनावरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री तथा भारतीय दूतावास, काठमाडौंका काउन्सिलर अभिनाश कुमार सिंहको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, भारतीय दूतावासका एटेची उपेन्द्र सिंह नेघी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संस्थाका पदाधिकारी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, सुरक्षाकर्मीहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो।1752584820305

अध्यक्ष खत्रीले प्रतिष्ठानको निर्माणले स्थानीय समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्र सुदृढ हुनुका साथै पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। काउन्सिलर सिंहले नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले दूतावासको सहयोगमा यस्ता परियोजनाहरू अघि सारिएको बताउनुभयो।

स्थानीय समुदायले उक्त परियोजनाबाट सामाजिक ऐक्यबद्धता बढ्ने, धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा व्यक्त गरेका छन्।