सुनसरी | सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित डंग्राहिपोखरीमा रहेको रामधुनी आदर्श प्राथमिक विद्यालयको स्थानीय पाठ्यक्रम सुधार तथा विद्यालय व्यवस्थापनबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापा, वडा नम्बर ५ का वडा अध्यक्ष भोला बास्तोला, रामधुनी आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक बिन्दु (लिम्बु) सुब्बा, विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष राम करण खर्ग, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा बृहत छलफल गरिएको थियो।

विद्यालयको स्थानीय पाठ्यक्रम विकास, शैक्षिक सुधार, खेलकुद प्रवर्द्धन, भौतिक पूर्वाधार सुधार, सरसफाइ व्यवस्था, अध्ययन–अध्यापनको प्रभावकारिता वृद्धि लगायतका विषयमा छलफल केन्द्रित भएको थियो। विद्यालयमा थप कक्षाकोठा निर्माण, पठनपाठनको स्तरीकरण तथा खेलकुद गतिविधिलाई अझ सशक्त बनाउने योजनाहरू प्रस्तुत गरिएको थियो।

रामधुनी आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक बिन्दु (लिल्बु) सुब्बाका अनुसार विद्यालयको भौतिक संरचना सुधार गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्न आवश्यक पहलहरू गरिने छ। "विद्यालयलाई शिक्षाको उज्यालो केन्द्र बनाउँदै लैजाने हाम्रो संकल्प हो। यसका लागि सम्पूर्ण पक्षहरूको सहकार्य आवश्यक छ," उनले भनििन् ।

कार्यक्रममा सहभागी रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले विद्यालयको सुधारका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताइन्। उनले "शिक्षा क्षेत्रको सुधारबिना समृद्ध समाजको कल्पना गर्न सकिँदैन। यसका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक तथा विद्यार्थीहरूको सहकार्य अपरिहार्य छ" भन्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा नगरपालिकाले हरसम्भव सहयोग गर्ने बताइन्।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालय सुधारका योजनालाई स्वागत गर्दै आफ्ना छोराछोरीले राम्रो शिक्षा पाउने आशा व्यक्त गरे। विद्यार्थीहरू पनि विद्यालय व्यवस्थापनले शिक्षामा सुधार ल्याउने योजनाबारे उत्साहित देखिए।

रामधुनी आदर्श प्राथमिक विद्यालयले हाल कक्षा १ देखि ५ सम्म अध्यापन गराउँदै आएको छ। विद्यालयलाई अझ प्रभावकारी बनाउने तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित आगामी शैक्षिक सत्र २०८२ का लागि विभिन्न कार्ययोजनाहरू अघि सारिएको छ।IMG_20250327_204309

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले छलफलमा उठेका विषयहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यालय सुधारका लागि नगरपालिकाको सहकार्य आवश्यक हुने भन्दै, सबै पक्षले मिलेर काम गर्ने कुरा स्पष्ट गरिएको छ।

स्थानीय विद्यालयहरूको गुणस्तर सुधार गर्दै शिक्षाको पहुँच वृद्धि गर्ने उद्देश्यले गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा विद्यालय प्रशासन, स्थानीय सरकार, अभिभावक र विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको छ। विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्दै भौतिक पूर्वाधारलाई सुदृढ बनाउने योजनाहरू अगाडि सारिएको छ।

स्थानीय पाठ्यक्रमलाई प्रभावकारी बनाउन, विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावशाली बनाउन तथा भौतिक र शैक्षिक वातावरणलाई आधुनिक बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने स्थानीय अभिभावकहरूको भनाइ छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।