इटहरी | स्वदेशमै उत्पादन वृद्धि गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले जेएनबी एप्रेल प्रा. लि. उद्योग विगत ६ वर्षदेखि निरन्तर सञ्चालनमा छ। सुनसरी जिल्लाको खनार स्थित यस उद्योगले हाल ७० जना भन्दा बढी नेपाली श्रमिकलाई रोजगारी प्रदान गर्दै आएको छ।
उद्योगका सञ्चालक गिरिजा राय का अनुसार, नेपालमै उत्पादनलाई प्रवर्द्धन गर्दै दक्ष जनशक्तिको सिर्जना गर्नुपर्ने आवश्यकताबाट प्रेरित भएर उद्योग स्थापना गरिएको हो। “हामी नेपाली श्रमिकहरूलाई स्वदेशमै अवसर दिन चाहन्छौं। सिकेको सीपलाई विदेशमा होइन, आफ्नै देशमा प्रयोग गर्नुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो,” उहाँले भन्नुभयो।
जेएनबी एप्रेल प्रा. लि. ले हालसम्म ७ करोड रुपैयाँ बराबरको लगानी गरिसकेको छ। यो उद्योगले नेपाली कच्चापदार्थ ५०% र विदेशबाट आयात गरिने कच्चापदार्थ ५०% प्रयोग गरी गुणस्तरीय कपडा उत्पादन गर्दै आएको छ।
उद्योगमा मुख्यतः रेमिमेट, जिन्स, कटन, ट्विल एण्ड पेन्ट जस्ता कपडाहरू उत्पादन गरिन्छ। यी कपडाहरू इटहरी, बिर्तामोड, दमक हुँदै काठमाडौं लगायतका प्रमुख बजारहरूमा बिक्री-वितरण गरिन्छन्।
उद्योगमा काम गरिरहेका महत दिप इब्रहिम ले उद्योगले आफूजस्ता थुप्रै नेपाली श्रमिकलाई रोजगार दिएकाले ठूलो राहत मिलेको बताउनुभयो। “हामीलाई यहाँ राम्रो पारिश्रमिक मात्र होइन, स्थायी रोजगारी पनि मिलेको छ। नेपालमै मेहनत गर्ने अवसर पाएकोमा खुसी छौं,” उहाँले भन्नुभयो।
सञ्चालक रायका अनुसार, उद्योगले भविष्यमा उत्पादन वृद्धि गरी थप रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। “हामी नेपाली कपडा उद्योगलाई प्रवर्द्धन गर्न चाहन्छौं। स्वदेशमै उत्पादन बढाएर नेपाललाई आत्मनिर्भर बनाउने हाम्रो योजना छ,” उहाँले थप्नुभयो।
उद्योगले उत्पादन गर्ने कपडाहरू पूर्वाञ्चलमै सर्वश्रेष्ठ भएको दाबी गर्दै आएको छ। नेपाली उपभोक्ताहरूबीच यसको लोकप्रियता बढ्दै गइरहेको छ। गुणस्तरका कारण नेपाली बजारमा यी उत्पादनहरू प्रतिस्पर्धात्मक बनेका छन्।
नेपालमा रोजगारीको अवसर सिर्जना गर्दै लत्ताकपडाको स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरिरहेको जेएनबी एप्रेल प्रा. लि. जस्ता उद्योगहरू देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिइरहेका छन्।


