सुनसरी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी अधिवेशनमा जनसंख्या वृद्धिको नीतिको माग गरिएको छ ।
बुधबार प्याब्सन कोशी प्रदेशको चौथो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरेका हुन् ।
युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदरसमेत कम भएको भन्दै पुरीले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरेका हुन् । 'बसन्त पञ्चमी भर्खर गयो । त्यो दिन विद्यार्थी भर्ना गर्ने परम्परा छ,' पुरीले भने, ' तर, तथ्यांक हेर्दा कमजोर देख्छु । बालबालिका पनि त्यस्तो धेरै देखिँदैनन् । जन्मदर कम भएको छ । मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउन माग गर्दछु।'
पुरीले यो माग राख्दै गर्दा अधिवेशन स्थलमा हाँसो छुटेको थियो । तर, पुरीले मुख्यमन्त्रीतिर हेर्दै जनसंख्या वृद्धि नीति बनाउनुपर्ने माग पेस गरेका थिए । 'देशभर कम्तीमा स्थिर ५ करोड जनसंख्या हाम्रोमा चाहिन्छ । मुख्यमन्त्रीज्यूलाई यो विषयमा गम्भीर ध्यानाकर्षण गराउँछु,' पुरीले भने ।


