इटहरी – नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरीको तेस्रो उपमहानगर अधिवेशन सम्पन्न भएको छ। संगठनका अध्यक्ष मेदन कुमार घिमिरेको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

"सम्पूर्ण शिक्षक एक हौँ, ट्रेड युनियन अधिकार, पेशागत दक्षता, गुणस्तरीय शिक्षा हाम्रो संलग्नता" भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा शिक्षा क्षेत्रका विभिन्न महत्वपूर्ण विषयहरूमा गहन छलफल गरिएको थियो। अधिवेशनले शिक्षकहरूको पेशागत हकअधिकार, शिक्षाको गुणस्तर अभिवृद्धि, नीति निर्माणमा शिक्षकहरूको भूमिका र विद्यालय व्यवस्थापनका विविध पक्षमा ध्यान केन्द्रित गर्दै निष्कर्ष निकालेको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरीका अध्यक्ष मेदन कुमार घिमिरेले अधिवेशनलाई सम्बोधन गर्दै शिक्षकहरूको हकहितको संरक्षण तथा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि संगठन निरन्तर क्रियाशील रहने बताउनुभयो। 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले शिक्षाको गुणस्तर सुधार तथा शिक्षकहरूको पेशागत मर्यादालाई उच्च राख्न राज्य, शिक्षक संगठन र नीति निर्माताहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। 

अधिवेशनमार्फत नयाँ कार्यसमिति गठन गरिएको छ, जसमा अनुभवी तथा युवा नेतृत्वको समायोजन गर्दै संगठनलाई अझ प्रभावकारी रूपमा अघि बढाउने रणनीति लिइएको छ।

कार्यक्रमका वक्ताहरूले शिक्षकको सम्मान र हकअधिकार सुनिश्चित गर्न संगठनहरूले सरकारलाई दबाब दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपमेयर संगिता कुमारी चौधरी, पेसागत महासंघ नेपाल सुनसरीका अध्यक्ष गोविन्द मिश्र, नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेशका कोषाध्यक्ष प्रभु नारायण चौधरी, विद्यालय व्यवस्थापन समिति केन्द्रिय महासचिव काशीनाथ दंगाल, इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश कुमार शाह, नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरीका पदाधिकारीहरू, स्थानीय निकायका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका पदाधिकारीहरू तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।