मोरङ | मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-३, नेमुवा स्थित स्मृति इङलिस बोर्डिङ स्कुल द्वारा १६ औँ अभिभावक दिवस एवं विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बिहीबार आयोजित उक्त कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालयकी शिक्षिका सर्मिला कटुवालले गर्नुभएको थियो।

विद्यालयका विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गायन, नृत्य, नाटक जस्ता विभिन्न आकर्षक प्रस्तुति प्रस्तुत गरिएका थिए। विद्यार्थीहरूको प्रस्तुति हेरेपछि उपस्थित अभिभावकहरू दंग परेका थिए।

कार्यक्रमको अवसरमा विद्यालयका पूर्व विद्यार्थीका १५ जना अभिभावकहरूलाई सम्मान प्रदान गरिनुका साथै राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका विद्यार्थीहरूलाई पनि सम्मानित गरिएको थियो। विद्यालयका प्रधानाध्यापक रिता न्यौपाने ले विद्यार्थीको शैक्षिक तथा व्यवहारिक विकासमा अभिभावकको सकारात्मक साझेदारी अत्यन्तै महत्वपूर्ण हुने बताउँदै, विद्यालयले शिक्षासँगै व्यावहारिक ज्ञानको समेत शिक्षण प्रदान गर्दै आएको जानकारी गराउनु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पाँचकर्ण राई ले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन प्रदेश सरकारले आवश्यक सहयोग तथा सहकार्य गर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षण संस्थाले मात्र नभई अभिभावक, शिक्षक, र सरकारबीच समन्वय आवश्यक हुने कुरामा जोड दिनुभयो।IMG_20250130_180029

सो अवसरमा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, प्याब्सन मोरङका अध्यक्ष जगदबहादुर बस्नेत, बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी गच्छदार, विभिन्न विद्यालयका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, अभिभावक, शिक्षक, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विद्यालयले आगामी माघ २१ गते सरस्वती पूजाको दिन नर्सरी कक्षाका लागि नयाँ विद्यार्थीहरूको निःशुल्क भर्ना खुला गर्ने जानकारी समेत गराएको छ।

यस कार्यक्रमले विद्यालय, विद्यार्थी, र अभिभावकहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।