इटहरी| इटहरीस्थित ग्रीन गार्डेन इङ्गिलस स्कुलले आफ्नो ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले बुधबार एक भव्य समारोहको आयोजना गर्दै विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको सहभागितामा यो महत्त्वपूर्ण दिनलाई उल्लासपूर्वक मनाएको हो।
कार्यक्रममा ग्रीन गार्डेन इङ्गिलस स्कुलकी अध्यक्ष दिपा कोइरालाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश) उपस्थित रहेका थिए। विद्यालयले विगत ११ वर्षदेखि इटहरी वडा नम्बर १ मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ र यो अवसर विद्यालयका लागि मात्र नभई सम्पूर्ण समुदायका लागि गर्वको विषय बनेको विद्यालय प्रशासनले जनाएको छ।
विविध सांस्कृतिक प्रस्तुति र सम्मान कार्यक्रम
कार्यक्रमलाई विशेष बनाउन विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायतका विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिए। बालबालिकाले आफ्नै स्तरबाट प्रस्तुत गरेका यी कार्यक्रमहरू निकै आकर्षक तथा प्रभावशाली देखिएका थिए। विशेषगरी, पिजी (प्ले ग्रुप) देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नै पहलमा कार्यक्रम सञ्चालन गर्दै बाजा समेत बजाएका थिए, जसले कार्यक्रममा उपस्थित सबैलाई प्रभावित बनायो।
विद्यार्थीहरूको मेहनत र विद्यालयले उनीहरूको प्रतिभा विकासमा दिएको योगदानलाई कदर गर्दै विद्यालयका दुई जना शिक्षकलाई सम्मान समेत गरिएको थियो। विद्यालयका हरेक कार्यक्रम फरक शैलीमा प्रस्तुत गरिने परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि विशेष तरिकाले दिवस मनाइएको थियो।
विद्यालयको शैक्षिक शैलीप्रति अभिभावकहरू सन्तुष्ट
विद्यालयको शिक्षण शैली प्रभावकारी रहेको भन्दै अभिभावकहरू अत्यन्त उत्साहित देखिए। उनीहरूका अनुसार ग्रीन गार्डेन इङ्गिलस स्कुलले विद्यार्थीहरूको रुचि र क्षमतालाई पहिचान गर्दै व्यावहारिक तथा सिर्जनात्मक शिक्षामा जोड दिएको छ, जसले गर्दा विद्यार्थीहरूमा आत्मविश्वास बढ्नका साथै उनीहरूको प्रतिभा प्रस्फुटित भइरहेको छ।
विद्यालयका संस्थापक अध्यक्ष तथा शिक्षक दिपा कोइरालाका अनुसार ग्रीन गार्डेन इङ्गिलस स्कुल विद्यार्थीहरूको चाहना तथा क्षमता अनुरूप शिक्षण विधि अवलम्बन गर्दै आएको छ। साथै, विद्यालयले अध्यापनको नयाँ प्रविधिहरूलाई समेत अपनाउँदै बालमैत्री शिक्षाको अवधारणालाई व्यवहारमा उतारिरहेको छ।
विद्यालय समुदायमा एक प्रतिष्ठित शिक्षण संस्था
कार्यक्रममा इटहरी वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश) ले ग्रीन गार्डेन इङ्गिलस स्कुललाई स्थानीय क्षेत्रकै नमुना शिक्षण संस्था को रूपमा वर्णन गर्दै विद्यालयले विद्यार्थीलाई प्रदान गरिरहेको गुणस्तरीय शिक्षाको प्रशंसा गरे।
त्यस्तै, नमुना टोल विकास संस्थाका अध्यक्ष चित्र बहादुर खत्रीले विद्यालयले अभिभावकहरूको मन जित्दै इटहरी क्षेत्रका बालबालिकालाई उत्कृष्ट शिक्षाको अवसर प्रदान गरिरहेको धारणा राखे।
विशिष्ट अतिथिहरूको सहभागिता
विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय बौद्धिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी प्रमुख व्यक्तित्वहरूमध्ये किन्डर कार्टेन, मण्टेश्वरी तथा चाइल्ड केयर एसोसिएसन (KMCA), इटहरीका अध्यक्ष हरी आचार्य, संयुक्त टोल विकास संस्थाका सचिव नारायण वि.क, अजबरी भजनकीर्तनकी अम्बिका कुमर, एन प्याब्सन इटहरीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत अन्य स्थानीय विद्यालयका प्रिन्सिपल तथा अध्यक्षहरू, टोल विकास संस्थाका पदाधिकारीहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
विद्यालयको ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको यस भव्य समारोहले ग्रीन गार्डेन इङ्गिलस स्कुलको प्रतिष्ठा अझै माथि उठाएको छ भने विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई एक आपसमा अझै नजिक्याउने अवसर समेत प्रदान गरेको छ।



