भोजपुर | भोजपुरको अरुण गाउँपालिकामा निर्माण भइरहेको १५ सैयाको अस्पतालले गाउँपालिकाभित्रका बासिन्दाको स्वास्थ्य सेवामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। गाउँपालिकाको प्याउलीमा निर्माणाधीन यो अस्पतालको काम अन्तिम चरणमा पुगेको र २०८१ सालको चैत्र मसान्तसम्ममा पूरा हुने लक्ष्य राखिएको छ।

गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले हिजो निर्माणस्थलको निरीक्षण गर्दै अस्पताल निर्माणले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यो अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका बासिन्दालाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो।

अस्पताल निर्माणमा झण्डै १५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। निर्माणस्थलमा अहिले भवनको फिनिसिङको काम तीव्र गतिमा भइरहेको छ। निर्माण कम्पनीका प्रतिनिधिहरूले निर्धारित समयमै निर्माण सम्पन्न गर्न सबै प्रक्रिया द्रुत गतिमा अघि बढाइएको जानकारी दिएका छन्।

स्थानिय बासिन्दाहरूले अस्पताल निर्माणले स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउनेमा ठूलो आशा गरेका छन्। उनीहरूका अनुसार, यो अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवामा सहज पहुँच हुने र गाउँपालिकाका बासिन्दाले समयमै गुणस्तरीय उपचार सेवा पाउनेछन्।

यो अस्पताल निर्माणसँगै गाउँपालिकाले स्वास्थ्य सेवामा सुधार गर्ने र जनताको जीवनस्तर उकास्ने योजना अगाडि सारेको छ। यसले गाउँपालिकाभित्रका नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने मात्र होइन, अरू पनि स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू संचालन गर्न सकिने आधारशिला निर्माण गर्ने विश्वास लिइएको छ।

यो परियोजनाले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवालाई थप उचाइमा पुर्‍याउँदै जनताको स्वास्थ्य सम्बन्धी आवश्यकता पूरा गर्ने महत्वपूर्ण भूमिका खेल्नेछ।