विराटनगर | विराटनगर भन्सार कार्यालयको आयोजनामा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति र सरोकारवालाहरूबीच एक विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अर्थ समिति सभापति सन्तोष चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख, मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र ११ जनाको टोली सहभागी भए।

कार्यक्रमको मुख्य उद्देश्य सीमावर्ती क्षेत्रमा भन्सार प्रशासनलाई पारदर्शी र प्रभावकारी बनाउने, आर्थिक सुरक्षाका चुनौतीहरूको समाधान खोज्ने र स्थानीय निकाय तथा सुरक्षा निकायहरूको भूमिकालाई स्पष्ट पार्ने थियो।

सभापति सन्तोष चालिसेले नेपालको आर्थिक नीति सुधार र सीमावर्ती सुरक्षाको विषयमा जोड दिँदै अर्थ समितिले यसतर्फ प्राथमिकता दिएको बताए। प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा व्यवस्था र भन्सार कार्यालयसँगको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा उपस्थित सहभागीहरूले भन्सार प्रशासनमा डिजिटल प्रणालीको प्रयोग, जनशक्ति व्यवस्थापन, र सीमावर्ती क्षेत्रमा हुने गैरकानुनी गतिविधिहरू रोक्नका लागि रणनीतिक कदमहरू अघि बढाउन सुझाव दिएका थिए।

कार्यक्रमले आर्थिक सुधार र सुरक्षासम्बन्धी चुनौतीहरूको समाधानका लागि महत्वपूर्ण सन्देश दिनुका साथै सरोकारवालाहरूबीच प्रभावकारी समन्वयका लागि नयाँ मार्ग खोल्ने अपेक्षा गरिएको छ। ११ जनाको टोलिले नयाँ भन्सार नाका र रानी भन्सार नाका समेत अनुगमन गरेको थियोे ।