भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो
गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले रु. ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उहाँको भनाइ छ । किसानहरुलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताउनुभयो ।
मुख्य रुपमा पशुपालनको लागि उपयुक्त रहेको वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभञ्याङ र वडा नं ३ च्याङ्गेका किसानलाई गाई वितरण गरिएको हो ।
गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्षल किरण राईले बताउनुभयो । गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातका गाई वितरण गरिएको उहाँको भनाइ छ । विगतका वर्षहरुमा किसानलाई उन्नत जातको भैँसी वितरण कार्यक्रमसमेत सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
गाउँपालिका ‘उपाध्यक्ष आत्मानिर्भर कार्यक्रम’अन्तर्गत महिला उद्यमीहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ गाई वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो ।
गाउँपालिकाले उन्नत जातको गाई वितरणले उत्साह थपिएको वडा नं १ श्यामशिलाकी किसान पासाङदिकी शेर्पाले बताउनुभयो । गाई वितरणले आयआर्जनमा जोडिन सहज भएको उहाँको भनाइ छ ।
किसानहरु उद्यममा जोडिएसँगै श्यामशिला क्षेत्रमा उत्पादन भएको दूध तथा दूग्ध उत्पादन सदरमुकामसँगै बाहिर जाने अवस्था बनेको वडा नं १ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । मध्ये पहाडी लोकमार्गले छोएको कारण यहाँ उत्पादन भएको दूधको बजारीकरणको लागि सहजता रहेको वडाध्यक्ष तामाङको भनाइ छ ।


