इटहरी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले सोमबार जिल्लामा रहेका अग्रज तथा सक्रिय पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । इटहरी स्थित प्रिमियर होटलमा सम्पन्न उक्त कार्यक्रम शाखाको नयाँ कार्यसमितिको आयोजनामा शाखाको प्रभावकारिता बढाउने, पत्रकारिता क्षेत्रका वर्तमान चुनौतीहरू पहिचान गर्ने, र आगामी कार्यदिशाबारे मार्गदर्शन लिने रहेको थियो । अन्तरक्रियामा अग्रज पत्रकारहरूले पत्रकारिता पेशाको हालको अवस्थाबारे आफ्ना धारणा राख्दै यसको गुणस्तर सुधार गर्न आवश्यक कदमहरु चाल्न सुझाव प्रस्तुत गरेका थिए । विशेष गरी पछिल्लो समय पत्रकारिता पेशा कमजोर हुँदै गएको, पेशागत विश्वसनीयता घट्दै गएको, र पत्रकारहरूका समस्या समाधानमा ध्यान दिनुपर्ने जस्ता विषयहरू कार्यक्रममा उठान गरिएकोे थियो । नवनिर्वाचित कार्य समितिले पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि अग्रज तथा सक्रिय पत्रकारहरूसँग सहकार्य गर्दै शाखालाई अझ सशक्त र प्रभावकारी बनाउने नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्लेले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू, अग्रजपत्रकारहरू, र महासंघका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो भने यस प्रकारका अन्तरक्रिया कार्यक्रमहरूले पत्रकारिताको सुधार र शाखाको दीर्घकालीन रणनीति बनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा ७० भन्दा बढी सक्रिय तथा अग्रज पत्रकारहरूको उपस्थिति रहेको थियो ।


