विराटनगर | कोशी प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशीका प्रमुख सचेतक विदुर कुमार लिङ्थेपले संखुवासभाको तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको डिपो स्थापनाका लागि कोशी प्रदेश सरकारलाई पहल गर्न आग्रह गरेका छन्।

आइतबार कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै लिङ्थेपले पूर्वी पहाडी जिल्लाहरूमा हवाई इन्धन डिपोको अभावका कारण यात्रुहरूले अत्यधिक भाडा तिर्नुपर्ने बाध्यता रहेको बताए। उनले तुम्लिङटार विमानस्थलमा डिपो स्थापनाले यात्रुहरूको खर्च कम गर्न र क्षेत्रीय उडानलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने धारणा राखे।

उनले भने, "तुम्लिङटार विमानस्थल, मकालु, कञ्चनजंगादेखि सगरमाथासम्म उडान गर्ने हेलिकप्टर र विमानका लागि सहज पहुँचको केन्द्र बन्न सक्छ।" ताप्लेजुङ र सोलुखुम्बु जस्ता पहाडी क्षेत्रबाट इन्धन भर्न काठमाडौं वा तराईका विमानस्थल जानुपर्ने झन्झट हटाउन तुम्लिङटार उपयुक्त स्थान रहेको उनले बताए।

हाल कोशी प्रदेशमा विराटनगर र भद्रपुर विमानस्थलमा मात्र हवाई इन्धन डिपो सञ्चालनमा रहेकोले, उनले नेपाल आयल निगममार्फत तुम्लिङटारमा डिपो स्थापना गर्न प्रदेश सरकारलाई तत्काल पहल गर्न आग्रह गरे।