भोजपुर – रामप्रसादराई गाउँपालिकाले आफ्नो क्षेत्रका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक स्तर वृद्धि गर्ने उद्देश्यले अंग्रेजी र गणित विषयमा दुई महिनाको लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको शिक्षा शाखाले ९ गते बसेको शिक्षा समितिको बैठकमा गरिएको निर्णयअनुसार, शैक्षिक सत्र २०८१ मा कक्षा ८ का विद्यार्थीहरूको लागि हरेक दिन प्रति विषय १/१ घन्टाको अतिरिक्त कक्षा सञ्चालन गरिनेछ। यो कक्षा सम्बन्धित विद्यालयमा कार्यरत विषय शिक्षकहरूले नै लिनेछन्।
अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि शिक्षकहरूलाई प्रतिमहिना रु. ५,००० पारिश्रमिक उपलब्ध गराइने छ। साथै, कक्षाको प्रभावकारीता मापन गर्न शिक्षक र विद्यार्थीको उपस्थितिको विवरण, दुई महिनामा दुई पटक लिइने परीक्षाको प्रगति प्रतिवेदन, र पढाइएका विषयवस्तुहरूको अभिलेख प्रस्तुत गर्नुपर्ने छ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख दान बहादुर भट्टराईका अनुसार, यो कार्यक्रम विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार्न अत्यन्तै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। उनले सबै सामुदायिक विद्यालयहरूलाई कक्षा सञ्चालन र प्रतिवेदन प्रस्तुत गर्न आवश्य कागजातहरूको तयारी गर्न आग्रह गरेका छन्।
यस निर्णयले गाउँपालिकाका विद्यालयहरूको शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


