भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित प्रतिष्ठित फुटबल प्रतियोगिता मुन्दुम कप २०८१ को उपाधि हिले फुटबल एशोसिएशन, धनकुटाले जितेको छ। फाइनल खेलमा धनकुटाको टोलीले नयाँ श्रीनाप गण भोजपुरलाई हराउँदै उपाधि जितेको हो । उपाधि जितेसँगै हिले फुटबल एशोसिएशनले नगद १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
फाइनलमा पराजित श्री नयाँ श्रीनाप गण भोजपुरले उपविजेताको स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ पुरस्कार जित्यो। यसैगरी, सेमिफाइनलसम्म पुगेका टोलीहरू भोजपुरको कोदार फुटबल क्लब र सुनसरीको सिर्जनशील युवा क्लब, दुहबीले समान दश-दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यो प्रतियोगिता टेम्केमैयुङ गाउँपालिकाको आर्थिक सहयोगमा छिन्नमखु युवा समाजको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगिता गत पुष २२ गतेबाट सुरु भएको थियो। प्रतियोगितामा आयोजकसहित नौ टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। छिन्नमखु युवा समाजका अध्यक्ष रुवालुङ राईका अनुसार यो प्रतियोगिता खेलकुदलाई प्रोत्साहन गर्नुका साथै स्थानीय स्तरमा फुटबल खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो।
गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले यो खेल प्रतियोगिताले टेम्केमैयुङ क्षेत्रको पर्यटकीय महत्वलाई उजागर गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। प्रतियोगिताको मुख्य उद्देश्य मुन्दुम पदमार्गको पर्यटन प्रवर्द्धन गर्नु हो। यो क्षेत्र प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण छ। खेलकुदको माध्यमबाट स्थानीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
मुन्दुम कपजस्तो ठूला प्रतियोगिताले न केवल खेलाडीहरूको क्षमता विकासमा योगदान पुर्याउँछ, तर यसले क्षेत्रीय सद्भाव र पर्यटन विकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ। आयोजक टोली र सहभागीहरू सबैले प्रतियोगितालाई सफल बनाउन योगदान दिएका छन्। खेलले स्थानीय समुदायमा नयाँ ऊर्जा थपेको छ, र यसले आगामी दिनमा अझ ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्ने प्रेरणा दिएको छ।
मुन्धुम कप मात्र नभएर टेम्केमैयुङ गाउँपालिकाले माघ १ देखि ५ गतेसम्म सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गर्ने भएको छ । मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ लाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस मेलाले स्थानीय कृषि उत्पादन, सांस्कृतिक परम्परा, र पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य राखेको छ। मेलामा विभिन्न दिन विशेष कार्यक्रम आयोजना गरिनेछन्।


