इटहरी | इटहरी उपमहानगरपालिकामा क्षेत्रीय संस्कृति र परम्पराको संरक्षण तथा प्रबर्द्धनका लागि लियो डान्स च्याम्पियनशिप सम्पन्न भएको छ। लायन्स क्लब एक्टिभ र लियो क्लब एक्टिभको आयोजनामा तथा आकाश इन्स्टिच्युट इटहरीको मुख्य प्रायोजनमा भएको उक्त प्रतियोगिता कस्तुरी कलेज इटहरीको सभाहलमा सम्पन्न भएको हो ।
प्रतियोगिताको प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष जितेन्द्र थापा रहेका थिए। कार्यक्रममा १३ वटा विद्यालयका विद्यार्थीहरूले विभिन्न जातजाति र भाषाभाषीका लोकभाका र भेषभूषामा आधारित नृत्य प्रस्तुत गरेका थिए।
पछिल्लो समय नयाँ पुस्ताले परम्परागत लोकभाका, लय, संस्कृति, परम्परा र भेषभूषा बिर्सिंदै गएको अवस्थालाई ध्यानमा राख्दै नृत्य मार्फत उनीहरूलाई स्मरण गराउनु र संरक्षणप्रति सचेत बनाउन प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकहरूले बताएका छन्।
लियो क्लब एक्टिभका अध्यक्ष प्रकाश चौहानको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा कोशी कलेजले प्रथम स्थान हासिल गरेको छ। त्यस्तै, कस्तुरी कलेज दोस्रो, सुनसरी क्रिस्टल तेस्रो, र हिम शिखर स्कुल चौथो स्थानमा रहेका छन्।
प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरूले यस किसिमका कार्यक्रमहरूले क्षेत्रीय संस्कृतिलाई बचाउन र नयाँ पुस्तालाई प्रेरित गर्न मद्दत पुग्ने बताएका छन्। कार्यक्रमको आयोजना सफल बनाउन विभिन्न संघसंस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


