सुबास घिमिरे। नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याएको भन्दै समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियन्ता सांसद भगवती चौधरीलाई सम्मान गरिएको छ ।
बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ । सांसद चौधरीलाई यही मंसिर १७ गते आयोजित कार्यक्रममा सम्ममानित गरिएको हो ।
सम्मानित भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफु समाज रुपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताइन् । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवर्द्धननमा आफु सदैव सक्रिय रहने बताउँदै उनले सम्मानित हुन पाउँदा गौरवान्तिक भएको अभिव्यक्ति दिइन् ।
२०७२ सालको संविधानले सबैखाले विभेदहरुको अन्त्य गरेको भएपनि गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकीर गर्दै उनले भनिन्, ‘नेपालको नयाँ संविधानले सबैखाले विभेद र असमानतालाई अन्त्य गरेको भएपनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरु छन् । परम्परागत, सांस्कृतिक विभेदहरु छन् । महिलाहरु आर्थिक क्षेत्रमा पछाडी परेका छन् । ती सबै विभेदहरुको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ ।’
पूर्वमन्त्री चौधरीले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तिकरणमा लागि रहने प्रतिबद्धत जनाइन् ।
महिला आर्थिक सशक्तिकरणकी अभियन्ता सांसद चौधरीले २०६४ सालको संविधानसभामा विज्ञ सदस्यका रुपमा रहेर संविधान लेखनमा योगदान पुऱ्याएकी थिइन् । ३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तिकरण, समाजसेवा गर्दै आएकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुन् । उनले ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल)मार्फत गाउँगाउँमा रहेका महिलाहरुलाई सामाजिक, सांस्कृतिक विभेदहरु विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तिकरणमा जोडेकी छन् । यस्तै, उनले गरिब, विपन्न र पछाडी परेका महिलाहरुको आर्थिक उन्नतिका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमुलक तालिम लगायतमा काम गर्दै आएकी छन् ।
हाल प्रतिनिधिसभा सदस्यका रुपमा नेतृ चौधरीले सामाजिक, आर्थिक, वर्गीय विभेद र समतामुलक कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन् ।



प्रतिक्रिया