इटहरी । नेपाल बीमा प्राधिकरण प्रदेश कार्यालयको आयोजनामा पत्रकारसँग बीमा सम्बन्धी समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार झापाको बिर्तामोडस्थित होटल साई प्यालेस (भद्रपुर रोड) मा आयोजित पत्रकारहरुसंग अन्तरक्रिया भएको हो । नेपाल पत्रकार महासंघ झापाको समन्वयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले कोरोना कालमा पीडित भएका झापाली पत्रकारहरूलाई अझै सम्म बिमा रकम भुक्तानी नभएको भन्दै सोको लागि पहल गरिदिन नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगर समक्ष अनुरोध गर्नुभएको छ । उहाँले बीमाको पहुँच आमनागरिक सम्म बढाउन झापाली सञ्चार क्षेत्र र सञ्चारमाध्यमहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। सोही अवसरमा झापाली पत्रकारहरूले बीमा ,बीमा कम्पनी र अभिकर्ता बीच अस्वास्थ्य प्रतिस्पर्धा हुने गरेको र आम नागरिकहरूमा अविश्वास बढ्दै गएको भन्दै जिज्ञासा राखेका थिए । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलले नागरिकहरू सम्म जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले आर्थिक जोखिम बहन गर्ने विभिन्न खालका बिमा सम्बन्धी कार्यक्रम संचालन गरिएको बताउनुभयो । बिमा कम्पनीहरूले बजारमा ल्याएका विभिन्न बिमा कार्यक्रमहरूको नियमन, सुपरिवेक्षण, अर्धन्यायिक तथा सुचना जन्य विकासात्मक कार्यहरू गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश विराटनगरका प्रमुख विनाश कुमार पोखरेलको अध्यक्षता रहेको छ । कार्यक्रममा झापामा क्रियाशील विभिन्न जीवन तथा निर्जीवन कम्पनीका प्रतिनिधिहरू समेत रहेको उक्त कार्यक्रममा झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले आ–आफ्ना जिज्ञासा तथा अन्तरक्रिया गर्नुभएको थियो ।