इटहरी / इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजनालाई सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै गुणस्तरीय, जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिँदै इटहरी उपमहानगरले इटहरीका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षहरू सहित जनप्रतिनिधिहरूको बृहत् अन्तरक्रिया सम्पन्न गरिएको हो ।

बृहत् शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै इटहरीका नगर प्रमुख तथा शिक्षा समितिका संयोजक हेमकर्ण पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र समेत प्रस्तुत गरेका थिए । बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुको उद्देश्य र इटहरी उपमहानगरको शैक्षिक योजना सार्वजनिक गर्दै नगर प्रमुख पौडेलले आगामी शैक्षिक सत्र २०८१ देखि इटहरी उपमहानगर शिक्षा समितिले यसअघि गरेका सबै निर्णय अक्षरशः कार्यान्वयन गर्ने दृढता समेत व्यक्त गरेका छन् ।

मेयर पौडेलले शैक्षिक गुणस्तर उकास्न पहिले अभिभावक, विद्यार्थी र शिक्षकहरूको मनोविज्ञान उकास्नुपर्ने भएकाले सामुदायिक तथा निजी विद्यालयहरूका विद्यार्थीहरूको पोसाक एउटै तोकिएको उल्लेख गरे, विद्यालयहरूले शिक्षण सिकाइका साथै गुणस्तरीय, जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने मेयर पौडेलको तर्क छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण वृद्धि गर्दै सरकारी विद्यालयलाई नागरिकको भरोसाको केन्द्रको रूपमा विकास गर्न कक्षा-६ सम्म अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजा कार्यक्रम सुरु गरिएको भन्दै मेयर पौडेलले नागरिक स्तरको सल्लाह, सहयोग तथा समन्वयबाट मात्र शिक्षा सुधारका लागि गरिएका निर्णयले सार्थकता पाउने मेयर पौडेलको भनाई छ ।

शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीले बताउनुभयो ।


मेयर पौडेलले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू बिच अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिई व्यवहारिक, जीवनोपयोगी र प्राविधिक शिक्षामा फड्को मार्न सकिने उल्लेख गर्दै आगामी दिनहरूमा समेत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारले कुनै कसर बाकी नराख्ने उद्घोष गरे ।

एउटै विद्यालय पोसाक, शुल्क निर्धारण, जनप्रतिनिधि तथा कर्मचारीका सन्तानहरूलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने इटहरी १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्यले जानकारी दिनुभयो ।