सुन्दरहरैंचा / स्थानीय सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचाले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायान (Quality Assurance and Accreditation - QAA) प्राप्तिका लागि आफ्नो काममा तीव्रता ल्याएको छ । सोमबार बिहान क्याम्पस सभाकक्षमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षतामा भएको बृहत् भेलामा क्याम्पस सञ्चालक समिति सदस्यहरू‚ लेखा समितिका सदस्यहरू‚ पुनरावेदन समितिका सदस्यहरू‚ सल्लाहकार समितिका सदस्यहरू‚ सञ्चालक समितका पूर्वअध्यक्षहरू‚ पूर्वक्याम्पस प्रमुखहरू‚ पूर्वविद्यार्थी समाजका पदाधिकारी एवम् सदस्यहरू‚ छात्रवृत्ति प्रदान गर्ने सङ्घ संस्थाका प्रतिनिधिहरू‚ अभिभावकका प्रतिनिधिहरू‚ शिक्षक एवम् कर्मचारीहरू उपस्थित भएको जानकारी सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिएका छन् ।
उक्त भेलामा QAA फोकल पर्सन तथा स्वमूल्याङ्कन समितिका संयोजक उपप्राध्यापक नरप्रसाद भण्डारीले गुणस्तर सुनिश्चितता प्रत्यायान (Quality Assurance and Accreditation - QAA) का विषयमा प्रष्ट्याएका थिए । QAA भनेको शैक्षिक‚ भौतिक‚ आर्थिक‚ पाठ्यक्रम‚ पठनपाठन‚ शिक्षण विधि‚ विद्यार्थी मूल्याङ्कन‚ विद्यार्थीको नतिजा‚ अनुसन्धान‚ प्रकाशन‚ विद्यार्थी कल्याण‚ पथप्रदर्शन‚ रोजगारी स्थापन‚ प्रतिभाको पहिचान तथा विकास‚ सामाजिक सम्बन्ध जस्ता विषयमा क्याम्पसमा गुणस्तर कायम छ र क्याम्पसले गुणस्तर सुनिश्चित गर्न सक्नेछ भनी विषयविज्ञबाट क्याम्पसका सबै गतिविधिको मूल्याङ्कन गरी प्रमाणपत्र प्राप्त गर्ने एउटा महत्तवपूर्ण कार्य भएको र यसका लागि हालसम्म क्याम्पसले गरेका क्रियाकलापहरू विषयमा भण्डारीले प्रष्ट पारेका थिए । कार्यक्रममा भण्डारीले क्याम्पसको भौतिक अवस्था‚ विद्यार्थी सङ्ख्या‚ उत्तीर्ण प्रतिसत‚ तह पार गर्ने विद्यार्थीको सङ्ख्या‚ विद्यार्थीहरूलाई प्रदान गरेका सुविधा‚ शिक्षक तथा कर्मचारीहरूको कार्यविभाजन‚ क्याम्पसको सरसफाइ‚ सामाजिक सम्बन्ध विस्तारका लागि गरेका कामहरू‚ अनुसन्धानका कामहरू‚ प्रकाशन‚ गुनासो व्यवस्थापन‚ क्याम्पसका नीतिगत व्यवस्था आदि विषयमा क्याम्पसले गरेका अभ्यासहरू विस्तृत विवरण सहित भविश्यमा क्याम्पसको कार्यदिशा समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरूले क्याम्पसका विभन्न विषयमा जिज्ञासा राख्दै प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन गरिएको थियो । QAA भनेको गुणस्तरको ब्राण्ड हो र गुणस्तरयुक्त छ भनी दिइने प्रमाणपत्र हो र यस्तो ब्राण्ड वा प्रमाणपत्र जुनसुकै शैक्षिक संस्थाले प्राप्त गर्न नसक्ने दृष्टान्तहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्वक्याम्पस प्रमुख पीतकुमार श्रेष्ठले क्याम्पसको विकास र विस्तारका लागि अपनाउनु पर्ने रणनीतिहरूका विषयमा सुझावहरू प्रस्तुत गरेका थिए । क्याम्पसका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँले क्याम्पसले अब स्वयत्तताका कार्यक्रमहरू चलाउनु पर्ने र यसका लागि अपनाउनु पर्ने उपायहरू सुझाएका थिए । सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले क्याम्पसले प्राविधिक धारका शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेमा नगरपालिकाले भौतिक‚ आर्थिक र प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

उक्त कार्यक्रममा सहभागीहरूलाई क्याम्पस प्रमुखले स्वागत गर्दै सहभागीहरूबाट प्राप्त भएका सुझावहरूलाई क्याम्पसले ग्रहण गर्ने र तिनै सुझावका आधारमा आवश्यक नीति तथा कार्यक्रम तयार गर्ने बचनबद्धता जाहेर गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान एकाइका प्रमुख गणेशप्रसाद दहालले गरेका थिए । कार्यक्रममा जम्मा १७५ जनाभन्दा बढि सहभागी भएका थिए ।


