सुन्दरहरैंचा / मोरङको  सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयकोे ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । 

कार्यक्रमको उदघाटन कोशी प्रदेशका  प्रमुख परशुराम खापुङले गर्नुभएको थियो । उहाँले देशकै उत्कृष्ट विद्यालय मध्येको एक सुकुनाले गरेको प्रगतिलाई कायम राखि अझ परिस्कृत बनाउदै विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी जीवनदेखि नै असल कुराको पालना गरेर अघि बढ्न जरूरी रहेको उल्लेख गर्नुभयो ।  कार्यक्रमको विशेष अतिथिको रूपमा बोल्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले आजको समय किताबी ज्ञान भन्दा पनि अबको उत्पादन बजारको माग अनुसारको प्रविधि युक्त शिक्षा दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सिर्जनात्मक सिकाईमा जोड दिन आग्रह गर्दै नमूना विद्यालयको रूपमा रहेकाले राज्यबाट समेत ठूलो सहयोग गरेको बताउदै अहिलेको विद्यार्थी संख्यालाई गुणस्तरीय शिक्षा दिएर आज प्राप्त गरेको उचाइ र शाखलाई जोगाउनु पर्ने बताउनुभयो  । 

विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले अहिले अभिभावकको चाहाना अङ्ग्रेजी शिक्षा तर्फ देखिएको बताउनुभयो । यस्तै विद्यालय परिसरमा प्लास्टिक मुक्त बनाउने घोषणा समेत गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपी अच्छामी, संविधान सभा सदस्य चन्द्रबहादुर गुरूङ लगायतले बोल्नुभएको थियो ।1702899205776

वार्षिकोत्सवको अवसरमा  दाताद्वारा राखिएको अक्षयकोषबाट विभिन्न विधामा उत्कृष्ट  विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।  शिक्षक विद्यार्थीहरूले साँस्कृतिक नृत्य ,नाटक प्रस्तुत गरि उपस्थित सबैलाई मनोरञ्जन दिलाएका थिए । हाल यस विद्यालयमा ४ हजार भन्दा बढी विद्यार्थी सुविधा सम्पन्न भवनमा अध्ययनरत  छन् । देश भरीका सामुदायिक विद्यालयतर्फ चौथो स्थानमा पर्न सफल यो विद्यालय अभिभावक, विद्यार्थीको रोजाईमा पर्दै गएको छ ।