इटहरी /  इटहरीको इटहरी नमुना कलेजले लैङ्गिक हिंसा उन्मुलन प्रेरित सडक नाटक तथा ड्रील डान्स प्रस्तुत गरेको छ । “महिला र बालिका विरुद्ध हुने हिंसा रोक्न लगानी गरौं” भन्ने नारा सहित कलेजको समाज कार्य विभागले शुक्रबार सुनसरी एवंम् मोरङका विभिन्न स्थानमा उक्त कार्यक्रम संचालन गरेको हो ।

समाजकार्य अध्ययनरत ४२ जना विद्यार्थीहरुको समुहले पूर्वको बेलबारी, विराटचोक, डाँगीहाट र इटहरीमा ड्रील साथै नाटक प्रस्तुत गरे । विद्यार्थीहरुले समुदायमा व्याप्त रहेको घरेलु हिंसालाई नाटकको विषयवस्तु बनाएका थिए । बहु विवाहको कारण मानसिक तथा शारीरिक यातना भोगिरहेका महिला दिदीबहिनीहरुले पीडा साहन नसकेर देह त्याग गर्न विवस हुनुपरेको प्रसंगलाई विद्यार्थीहरुले सडक नाटक मार्फत प्रस्तुत गरेका थिए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको केही दिन अघि समापन भए पनि कुरीति र कुसंस्कार विरुद्धको अभियान भने बाँकी रहेको ३ सय ४९ दिन नै चलाइनु पर्छ भन्ने सन्देश फैलाउन कलेज आम नागरिकहरुमाझ पुगेको कार्यक्रम संयोजक तथा समाज कार्य विभाग प्रमुख नितेस गौतमले वताए ।

नाटक तथा ड्रिल हेर्न इटहरी, बिराटचोक, बेलबारी र डाँगीहाटको बजार क्षेत्रमा सयौँको उपस्थिति रहेको थियो । “समुदायमा घट्ने यस्ता प्रतिनिधिमूलक घटनमा पात्रकारुपमा प्रस्तुत हुन पाउँदा खुसी लागेको छ । हाम्रो प्रस्तुतिले कोही कोही त भावुक पनि हुनुभयो । हाम्रो कार्यक्रम प्रभावकारी रह्यो भन्ने ठानेको छु ।” नाटक प्रस्तुत गर्ने बीएसडब्लु तेस्रो वर्षका छात्र बिवस पराजुलीले भने । 

इटहरी उपमहानगरपालिका परिसरमा विद्यार्थीहरुले अन्तिम प्रस्तुति देखाउदै कार्यक्रम समापन गरेका थिए । पूर्वमै पहिलो पटक समाज कार्य विषयको अध्यापन सुरु गरेको कलेजले स्थापना कालदेखि नै विश्व वातावरण दिवस, समाज कार्य दिवस, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आदिका अवसरमा विविध कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।