महोत्तरी / वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न ४ वटा परियोजनाहरुको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्णको अध्यक्षतामा आज भाद्र १९ गते सम्पन्न भएको छ । 

उक्त अवसरमा बोल्नु हुँदै प्रमुख कर्णले समुदायको विकास र सशक्तिकरणका लागि परियोजनाका कामहरु प्रशंसनीय रहेको बताउनुभयो । “वल्र्ड भिजन र साझेदार संस्थाहरुले संचालन गरेका क्रियाकलापहरुले लक्षित वर्ग र समुदायमा प्रत्यक्ष लाभ भएको देखिएको छ ।” प्रमुख कर्णले भन्नुभयो “सरोकारवालासँगको समन्वयलाई अझ बढाई छुटेका विपन्न वर्गलाई पहिचान गरी कार्यक्रम संचालन गर्न सके प्रभावकारी परिणाम आउनेछ ।”

सोही कार्यक्रममा बोल्नु हुँदै एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले स्थानीय सरकारको ध्यान पुग्न नसकेको तर आवश्यक भएको क्षेत्रमा परियोजनाले कार्यक्रम संचालन गरेर अति विपन्न समुदायका वर्गलाई सहयोग गरेको कुरा बताउनुभयो ।

यसैगरी कृषि ज्ञान केन्द्र महोत्तरीका अधिकृत मनिष कुमार पालले कृषि क्षेत्रमा अझ क्रियाकलापहरु बढाउन सके प्रभावकारी हुने बताउनुभयो भने स्वास्थ्य कार्यालय महोत्तरीका गिरेन्द्र झाले लक्षित वर्गलाई एकिकृत तरिकाबाट परियोजनाले सहयोग गरेकोले राम्रो परिणाम देखिएको बताउनुभयो ।

जिल्ला स्तरका विषयगत कार्यालयका प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रममा आर्थिक वर्ष २०२३ मा स्थानीय साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज महोत्तरीद्वारा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, समाज विकास केन्द्र महोत्तरीद्वारा संचालित जीविकोपार्जनका लागि पशुपालन परियोजना, प्रारम्भिक बाल शिक्षा परियोजना र दलित समाज उत्थान समिति नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजनाको बारेमा प्रस्तुतिकरण गरी छलफल गरिएको थियो ।

कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड कार्यक्रम प्रमुख हरि उपाध्याय, एकिकृत ग्रामिण विकास समाजका निवर्तमान सचिव उमेश न्यौपाने समेतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।