काठमाडौँ — शिक्षा मन्त्रालयले द्वन्द्वपीडित २ सय ३३ शिक्षकलाई पुनर्बहालीको तयारी गरेको छ । यसैगरी १८ जनालाई काम गर्न, ४१ जनालाई निवृत्तिभरण र २ सय ८४ अस्थायीलाई एकमुष्ट आर्थिक सहायता दिने भएको छ ।मन्त्रालयले मन्त्रिपरिषद्बाट गत चैत १६ मा भएको ‘राजनैतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको व्यवस्थापन’ निर्णयअनुसार कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।Capture 9त्यसनिम्ति शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नामावली सार्वजनिक गर्दै पुनर्बहाली, हाजिरी, निवृत्तिभरण तथा उपदान र एकमुष्ट आर्थिक सुविधा प्राप्तिका निम्ति ३५ दिनभित्र आवेदन दिन भनेको छ । पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश गोविन्द पराजुलीको अध्यक्षतामा गठन भएको समितिले दिएको प्रतिवेदनका आधारमा कदम अघि बढेको जनाइएको छ ।


उक्त प्रतिवेदनअनुसार २ सय ३३ जना शिक्षक पुनर्बहाली हुनेछ । त्यसैगरी स्थायी नियुक्तिपत्र लिएका तर हाजिर भई काम गर्न नपाएका १८ जना, निवृत्तिभरण र अन्य सुविधा वञ्चित ४१ जना छन् । यस्तै, सेवाबाट हटाइएका २ सय ८४ अस्थायी शिक्षकलाई सञ्चित बिरामी बिदाका अतिरिक्त एकमुष्ट आर्थिक सहायता दिइनेछ ।


केन्द्रका उपसचिव वसन्तप्रसाद कोइराला मन्त्रालयको निर्देशनानुसार द्वन्द्वपीडित शिक्षक तथा कर्मचारीको नामावली प्रकाशन गरी नामनामेसीको माग गरिएको जनाए । ‘द्वन्द्वपीडितमा परेका जम्मा ५ सय ७६ जना छन्,’ कोइरालाले भने, ‘त्यसमध्ये केही कर्मचारीसमेत छन् । आवेदनका आधारमा के कस्तो सेवा र सुविधा हुन्छ, दिइनेछ ।’पुनर्बहाली गर्न भनिएका कतिपय शिक्षक स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसद, राजनीतिक नियुक्तिसमेत पाएका छन् । कतिपय अन्य पेसामा छन् भने कतिको निधन भइसकेको जनाइएको छ । द्वन्द्वपीडित नामावलीमा रहेका शिक्षक तथा कर्मचारी र तिनका परिवारले प्रमाण खुल्ने कागजातसहित केन्द्रमा आवेदन दिनुपर्नेछ । लाभको पद धारण गरेकाले प्राप्त गरेको तहसमेत खुलाएर सेवा सुविधाको विवरण दिन भनिएको छ ।

द्वन्द्वपीडित शिक्षक तथा प्रदेश–१ ओखलढुंगाका सांसद मोहनकुमार खड्का बौद्धिक तप्काले न्याय र प्रोत्साहन मिलेको बताए । ‘राजनीतिक प्रतिशोधका आधारमा हामीले पीडा भोग्यौं, पेसा छोड्नुपर्‍यो र घरबार छोड्नुपर्‍यो,’ उनले कान्तिपुरसित भने, ‘सर्वोच्च अदालतले राम्रो फैसला र सरकारको यो निर्णयले राजनीतिक पीडित बनेर पेसामा रहनेका निम्ति उद्धार हुन्छ ।’

यसअघि कतिपयले व्यक्तिगत खुसामतका आधारमा जागिर थमौती गराएर पुनर्नियुक्ति लिएको उनले उल्लेख गरे । ‘तर, यो संस्थागत निर्णयले द्वन्द्वपीडितहरूलाई राहत र भोलि राज्यको कुनै पनि गलत टेन्डेन्सीले अगाडि बढेको सरकारविरुद्ध लाग्नका निमित्त यो बौद्धिक तप्कालाई यसले प्रोत्साहन गर्छ,’ उनले भने ।

मुलुकमा सशस्त्र द्वन्द्व चर्किएपछि विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक आस्थाका आधारमा निष्कासनमा परेका थिए । देशभरिमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीन तहमा १ लाख ७ हजार शिक्षक दरबन्दी छ । २०५६ मा शिक्षक सेवा आयोग स्थापना भएको थियो । आयोगले २०७५ सालमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति प्रक्रिया थालेको थियो । तर, द्वन्द्वपीडितले न्याय पाउन सकेका थिएनन् ।