काठमाडौं ।  शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै परीक्षार्थीलाई यसबारे सचेत गराएको हो।

 शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षार्थीले परीक्षा हलमा मोबाइल फोन लिएर जान नपाउने प्रवेशपत्रमा उल्लेख निर्देशनको वेवास्ता गरेको पाइएपछि सूचना निकाल्नुपरेको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोनलगायतका एलेक्ट्रोनिक डिभाइस साथमा नलैजान भन्दै लगेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने समेत  चेतावनी दिएको छ । आयोगले परीक्षा केन्द्रमा खटिने कर्मचारीहरुलाईसमेत सोही अनुसार आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

      आयोगले १७ हजार बढी रिक्त रहेको विभिन्न तहको शिक्षक पदमा परीक्षा लिईरहेको छ । माध्यमिक तहको परीक्षा मंगलबार लिएको छ भने निम्न माध्यामिक तहको परीक्षा बिहीबार, प्राथमिक तहको परीक्षा आगामी १९ गते र आन्तरिक बढुवाको परीक्षा २१ गते हुनेछ ।