इटहरी । नमूना कलेज इटहरीले आफ्ना प्राध्यापक तथा विद्यार्थीको लेख समेटिएको ‘नमुना स्मारीका’ विमोचन गरेको छ । सोमबार एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा नमुना कलेजको स्मारिका विमोचन गरिएको हो ।


यसका साथै व्यवस्थापन संकायका विद्यार्थीलाई अभिभुखिकरण पनि प्रदान गरिएको छ । कलेजको स्मारीकामा विभिन्न संकायका बारेमा चर्चा गर्दै वर्तमान वजारमा यसको महत्व र सम्भाव्यताका बारेमा लेख प्रकाशन भएका छन् । यसका साथै विद्यार्थीका कथा, कविता पनि यो स्मारीकामा समावेश गरिएको छ । स्मारीकामाथि समिक्षा गर्दै प्राध्यापक दिवस राईले प्राध्यापकका तर्फबाट लेखिएका लेखबाट विद्यार्थीलाई भिन्न भिन्न संकायको महत्व र उपयोगिताबारे जानकारी प्राप्त हुने उल्लेख गर्नुभयो ।


कलेजले स्मारीका प्रकाशन गरेको बधाई ज्ञापन गर्दै प्रमुख अतिथि शर्माले आगामी दिनमा पनि स्मारीका प्रकाशनले निरन्तरता पाउने विश्वास लिएको बताउनुभयो । अहिले शिक्षित जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यसलाई नेपालमा नै रोक्न र त्यसको लागि आवश्यक अवसर सिर्जना गर्न लागिपर्नुपर्ने उहाँले जोड दिनुभएको छ । व्यवस्थापन संकाय पढेका विद्यार्थीहरू अहिले स्तरीय रोजगारी र पारिश्रमिकका लागि विदेशिने क्रम बढेकाले त्यसलाई रोक्न देशमा नै होटल तथा व्यवसाय विस्तारमा जोड दिनुपर्ने उहाँले बताउनुभएको छ ।
यो क्षेत्रमा व्यवस्थापन संकाय अध्ययन गरेका विद्यार्थीले अब योगदान गर्ने समय आएकाले त्यसतर्फ ध्यान दिन उहाँले विद्यार्थीलाई अनुरोध गर्नुभयो ।कलेजले यसरी आधिकारिक कलेजको बारेमा प्रकाशन गरेको पुस्तकका यो पहिलो भएको बताएको छ । यस अघि समान्य भित्तेपात्रो र केही लेख प्रकाशन गरे पनि पुस्तक भने पहिलोपटक प्रकाशन गरिएको क्याम्पस प्रमुख धर्म न्यौपानेले जानकारी दिनुभयो । स्मारीकामाथी कलेजकै प्राध्यापक दिवस राई र राजु गौतमले समीक्षा गर्नुभएको थियो ।


नमूना कलेजका अध्यक्ष केशव खड्काले विद्यार्थीलाई व्यवस्थापन सीप र ज्ञान दिन कलेजमा नै आएकोमा प्रमुख अतिथि र अतिथिलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै उहाँले इटहरीमा विश्व विद्यालयका धेरै शैक्षिक कार्यक्रमहरू नरहनु दुखद भएको उल्लेख गर्नुभयो । यही कारण अध्ययन र कामको सिलसिलामा विद्यार्थीहरू विदेशिन बाध्य भएको उहाँले बताउनुभएको छ ।

यही चैत्र महिना भित्र कलेजले खोजमूलक जर्नल पनि प्रकाशन गर्ने जानकारी दिएको छ । यो कार्यक्रममा त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे, साहित्यकारद्वय बद्री भिखारी र मनु मज्जिल, प्राध्यापक उमेश भण्डारी तथा पत्रकार विराट अनुपमको पनि उपस्थिति रहेको थियो ।


